रोबटबारे लेख्ने एक जना लेखकले आफ्नो रिपोर्टमा भनेका छन्, ‘बालबालिकाजस्ता देखिने सेक्स रोबट आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’

प्रोफेसर नोएल सार्की एउटा समाजका रुपमा हामीले सबैखाले सेक्स रोबटबाट पर्ने असरसम्बन्धमा गहिरो सोचविचार गर्नु आवश्यक छ भन्छन्। ‘रेस्पोन्सिबल रोबोटिक्स’ले हालै यसमाथि एउटा विचार विमर्श आयोजना गरेको थियो।
प्रोफेसर सार्कीको भनाइ अनुसार अहिले त केही कम्पनीले मात्र यस्ता रोबट उत्पादन गरिरहेका छन्, तर रोबट क्रान्ति नै हुन लागेको छ र यसले सबै कुरा परिवर्तन गर्न सक्छ।

उनका अनुसार ‘आवर सेक्सुअल फ्युचर विद रोबट्स’ नामको यो रिपोर्ट त्यस्तो विषयमाथि लेखिएको छ, जुन विषयमा अहिले हत्तपत्त कुनै कुराकानी वा छलफल हुँदैन। अहिले यस्ता ‘सेक्स रोबट’ प्रयोग गर्नेको संख्या कति छ भन्ने जानकारी पाउन कठिन रहेको रिपोर्टमा उल्लेख छ। किनभने रोबट उत्पादन गर्ने कम्पनीहरूले यसबारे सही तथ्यांक उपलब्ध गराउँदैनन्।

प्रोफेसर सार्कीका अनुसार भविष्यको त्यो समयबारे सोचविचार गर्ने बेला भइसक्यो, जब मानिस र रोबटबीच सहवास सम्भव हुनेछ। ‘कानुन निर्माताहरूले अहिले नै यसमाथि सोचविचार गर्नुपर्छ र सर्वसाधारणले पनि के–के गर्न अनुमति दिने र के गर्न नदिने सोचविचार गर्ने बेला भइसकेको छ,’ उनी भन्छन्, ‘एउटा समाजका रुपमा हामीले यससम्बन्धमा के गर्ने हो चिन्तनमनन् गर्ने बेला भएको छ। मलाई यसको जबाफ थाहा छैन, म त केवल प्रश्न मात्र गरिरहेको छु।’

‘एन्ड्रोइड लव डल’, ‘सेक्स बोट’ र ‘ट्रु कम्प्यानियन’ सेक्स रोबट उत्पादन गर्ने कम्पनीमध्येका हुन्। यीमध्ये धेरैजसोले यसअघि ठ्याक्कै मान्छेजस्तै लाग्ने ‘सिलिकन सेक्स डल’ (खेलौना) बनाएका थिए। र, अब यी कम्पनीहरू बोल्न र हिँडडुल गर्न सक्ने सेक्स डल बजारमा उतार्न चाहन्छन्।

तत्काल यीमध्ये सबैभन्दा विकसित सेक्स डल ‘रिल डल’ भने सान डियागोस्थित कम्पनी ‘एबिस क्रिएसन्स’ले निर्माण गरेको छ। कम्पनी यसै वर्षको अन्त्यतिर ‘आर्टिफिसियल इन्टेलिजेन्स’युक्त एउटा सेक्स डल बजारमा ल्याउने तयारीमा छ। ‘हार्मोनी’ नामको यो रोबट ‘ट्याब्लेट एप्स’बाट टाउको हल्लाउन र आँखा चलाउन तथा कुराकानी गर्न सक्षम छ। कम्पनीले हार्मोनीको एप्स जारी गरिसकेको छ। एप्सबाट हार्मोनीको मुड र स्वर नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ।

रिपोर्टमा सेक्स रोबट्सबाट गराउन सकिने कामबारे पनि उल्लेख गरिएको छ । तीमध्ये केही यस्ता छन्ः
– रोबटलाई वेश्यालयमा यौनकर्मीका रुपमा प्रयोग गर्न सकिन्छ,
– वृद्धहरूले रोबटलाई साथीका रुपमा उपयोग गर्न सक्छन्,
– ‘सेक्सुअल हिलिङ’ अर्थात् उपचारमा पनि रोबटको उपयोग गर्न सकिन्छ,
– बलात्कारी र बालबालिकाको यौन शोषण गर्नेहरू (पेडोफिल) को उपचारमा पनि रोबट उपयोग गर्न सकिन्छ।

प्रोफेसर सार्कीका अनुसार यौन शोषण गर्ने व्यक्तिलाई यस्ता रोबट उपयोग गर्न दिने/नदिने बहस हुन आवश्यक छ।
बजारमा केटाकेटीजस्तै लाग्ने सेक्स रोबट उपलब्ध छन् र अहिले क्यानडाको एउटा अदालतमा यस्ता रोबटको खरिद बिक्री गरिनु उचित हो/होइन भन्ने मुद्दा विचाराधीन छ।

न्युफाउन्डल्यान्डका बासिन्दा केनेथ ह्यारिसनले जापानी कम्पनी हारुमी डिजाइन्ससँग एउटा रोबट किनेका थिए। यो कम्पनीमाथि क्यानडा प्रहरीले निगरानी गरिरहेको थियो र यो रोबट त्यहाँको विमानस्थलमा आइपुग्नासाथ सुरक्षाकर्मीले बरामद गरे। ह्यारिसनविरुद्ध ‘चाइल्ड पोर्नोग्राफी’ राखेको आरोप लगाइएको छ।

कतिपय एसियाली वेश्यालयमा सेक्स रोबटको उपयोग गरिन्छ। एउटा अपुष्ट समाचार अनुसार स्पेनी सहर बार्सिलोनामा यस्तो रोबट बनाउने एउटा कम्पनीले नै वेश्यालय सञ्चालन गरिरहेको थियो।

डे मोन्टफोर्ट विश्वविद्यालयमा रोबटको नैतिकतासम्बन्धी काम गर्ने डा. क्याथलिन रिचर्डसन केटाकेटीजस्तै लाग्ने सेक्स रोबटको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ भन्छिन्। तर, उनले सबैखाले सेक्स रोबटमा प्रतिबन्धको माग गरेकी छैनन्। उनी भन्छिन्, ‘यहाँनेर समस्या रोबटमा होइन, यौन व्यवसायमा छ। सेक्स रोबट पनि एक प्रकारको पोर्नोग्राफी नै हो।’

डा. रिचर्डसनका विचारमा रोबटका कारण समाजमा व्यक्ति एक्लिनेछन्। उनी रोबट र सेक्ससँग जोडिएका सबै पक्षमाथि ध्यान नदिएकोमा यो रिपोर्टको आलोचना गर्छिन्। ‘रिपोर्टको कभरमा नै पुरुष रोबटको तस्बिर छ, जबकि हामीलाई थाहा छ बजार छ्यापछ्याप्ती सेक्स डलले भरिएको छ,’ उनी भन्छिन्, ‘यस्तो आभास हुन्छ कि, यो सोच जेन्डर न्युट्रल (लिंग निरपेक्ष) छ। तर, सत्य के हो भने महिलाहरूले यस्ता सेक्स रोबट किनिरहेका छैनन्। सेक्स रोबटको बजार नै पुरुष र पुरुषको सेक्ससम्बन्धी मानसिकतामा आधारित छ।’

प्रोफेसर सार्की भन्छन्, ‘कम्पनीहरू आफूले उत्पादन गरेको रोबटबाट उपभोक्ताले मानवसँगको जस्तै सहवासको अनुभव गर्न सकुन् भन्ने चाहन्छन्। तर, रोबटले प्रेम अनुभव गर्दैनन्, नजिकिन र भावनात्मक रुपमा उपभोक्तासँग गाँसिन सक्दैनन्। रोबटले सबैभन्दा राम्रोसँग गर्न सक्ने काम भनेको झुटो प्रदर्शन गर्ने मात्र हो।’

हाल विकसित भइरहेका सेक्स डलले भविष्यमा सेक्स रोबटको स्वरुप लिनेछन् र यिनको निर्माण केही वर्षयता जटिल हुँदै गइरहेको छ। धेरैजसो सेक्स डल निर्माणमा अहिले छाला सिलिकनबाट, ढाँचा धातुबाट र सक्कलीजस्तै लाग्ने कपाल र आँखाको प्रयोग भइरहेको छ। सामान्यतया यस्ता डल महिला स्वरुपका हुन्छन्। सिन्थेटिक्स कम्पनीले भने पुरुष सेक्स डल निर्माणमा केही सफलता पाएको छ।

तर, प्रोफेसर सार्की भने मान्छेजस्तै देखिने यस्ता सेक्स डलको भविष्यमाथि आशंका व्यक्त गर्छन्। उनी भन्छन्, ‘म यस्ता डल आगामी ५० वर्षसम्म पनि मान्छेजस्तै हुनसक्ने सम्भावना देखिरहेको छैन। यी सधैँ नै अलि डरलाग्दा नै हुनेछन् र अहिले यस्ता डलको कुराकानी गर्ने विशेषता पनि खासै गतिलो छैन।’

 

डा. रिचर्डसन पनि यस्ता रोबटको भविष्यमाथि आशंका गर्छिन्। भन्छिन्, ‘रिपोर्टका अनुसार मान्छेजस्तै प्रतिक्रिया व्यक्त गर्ने रोबोट निर्माण गर्न सकिन्छ। तर, प्राविधिक रुपमा यस्ता रोबट निर्माण गर्नु अत्यन्त जटिल छ।’swasthyakhabar.com