म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई म्याग्दी दरवाङ सेरोफेरो अनलाइन रोधीघरले आर्थिक सहयोग गरेको छ। म्याग्दीका केही यूवाले स्थापना गरेको रोधीघरबाटबाट आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बन्चित भएका म्याग्देलीलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले १४ हजार सहयोग गरिएको अध्यक्ष तिलक बुढामगरले बताए ।

उनका अनुसार विदेशमा रहेका यूवाहरुले दिनभर काममा ब्यस्त हुने र सुत्ने बेलामा रोधीघरबाट नेपाली कला र संस्कृतिको जर्गेना गर्ने अभियानमा जुट्ने गरेका छन् । ‘हामीले यसबर्ष संस्थामार्फत पहिलो सहयोग गरेका छौ । अझै सहयोगलाई निरन्तरता दिन प्रतिबद्ध छौ’ उनले भने । रोधीघरका उपाध्यक्ष उमेश पुन मगर र सचिव काजी मान बुढाले समेत परोपकारी अभियानमा सहयोग गर्दा उत्साहित भएको बताए ।

रोधीघरबाट विगतमा पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग हुदै आइरहेको छ । कोषका सचिव लोकेश पुनलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । कोषका अध्यक्षले प्राप्त सहयोगलाई १ करोड ५० लाखको अक्षय कोषको स्थापना अभियानमा प्रयोग गर्ने बताए ।