यहाँका एक ब्यक्तिले जन्मदिनको खर्च मुटुरोगी एक बालिकाको उपचारमा आर्थिक सहयोग गरेका छन् । बेनी नगरपालिका डम्बरका विदुर कार्कीले जिल्लाको विकट लुलाङकी सञ्जुमायाँ विकको उपचारमा १० हजार आर्थिक सहयोग गरेका हुन् । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या झेल्दै आएकी विकको उपचारमा जन्मदिनमा हुने खर्चलाई कटाएर सहयोग गरेको कार्कीले बताए । ‘पहिल्यै सहयोग गर्ने चाहना थियो । अनुकुल समय मिलेको थिएन’ कार्कीले भने ।

आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सहयोग जुटाइरहेको म्याग्दी जिल्लाकै परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हु्न् । सहयोग हस्तान्तरणको अवसरमा कोषका अध्यक्ष शाक्यले आर्थिक अभाव भएकालाई सहयोग गर्ने अभियानमा रचनात्मक सहयोग प्राप्त भइरहेको बताए । उनले आफ्नो जन्मदिन,छोराछोरी, अभिभावक तथा आफन्तको सम्झनामा समेत सहयोग गर्ने अभियानले उपचार अभियानमा सहज भएको बताए । काठमाण्डौस्थित शहिद गंगाला ह्दयरोग केन्द्रमा उपचार गराइरहेकी विकलाई आवश्यक पर्ने यातायात, आवास लगाएतका खर्च कोषले जुटाइरहेको छ ।