कालीगण्डकीको संरक्षणमा लागि पदयात्रा

धार्मिक, सांस्कृतिक र बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी नदीको संस्कृति र सभ्यताको संरक्षण तथा प्रचार–प्रसार गर्ने उद्देश्यले तनहुँ जिल्लाको प्रसिद्ध धार्मिकस्थल देवघाटबाट दामोदर कुण्डसम्म पदयात्रामा निस्किएको छ । 

बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खननका कारण नदीले आफ्नो मौलिकता गुमाएको भन्दै महेश सन्यास आश्रम देवघाटधाम, तनहुँको सङ्कल्प र आह्वानमा गत जेठ २२ गते देवघाटबाट सुरू भएको पदयात्रा २५ दिनमा ४३१ किलोमिटर दूरीमा रहेको उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा पुगेर सम्पन्न हुनेछ ।

पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलका प्राचार्य फणिन्द्रप्रसाद पौडेलका अनुसार कालीगण्डकी बग्दै आएको जिल्लाहरूमा एकदिन विश्राम गरी पैदलमार्ग हुँदै नदीको महत्त्वबारे समुदायलाई समेत जानकारी गराउने गरिएको बताउनुभयो । संयोजक पौडेलले भन्नुभयो, ‘‘गण्डकी सभ्यता जोगाउनु अहिलेको प्रमुख आवश्यकता हो, यो पदयात्रा मात्रै होइन कालीगण्डकीमा देखिएको सङ्कट जोगाउने अभियान पनि हो ।’’ कालीगण्डकी नदीको दामोदर कुण्ड, मुक्तिनाथ हुँदै देवघाटसम्मको क्षेत्र अत्यन्त पावन क्षेत्र मानिन्छ ।

पदयात्रामा निस्किएको टोलीमा महेश सन्यास आश्रमका सन्त मधुसुदनानन्द गिरि र रमणानन्द गिरिका साथमा, हरिहर संन्यास आश्रमका सन्तहरु, नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकहरु गरी ६० जना रहेको संयोजक पौडेलले बताउनुभयो । कालिगण्डकी नदीमा राजा भरतले तपस्या गरेको पवित्र भूमि र भगवान् विष्णुका पाउँले कुल्चिएको पावन भूमिमा बगेको कालीगण्डकी हजारौँ वर्षको मानव चेतनासँग सम्बन्ध रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

कालिगण्डकी संसारकै ठुलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी मानिने  पदयात्रा संयोजक पौडेलले बताउनुभयो । पदयात्रा टोली मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिरमा दर्शन गरी दामोदरकुण्ड प्रस्थान गर्ने छ ।

पदयात्राले कालीगण्डकी नदीको संरक्षण तथा यस क्षेत्रमा रहेका धार्मिक तिर्थस्थलहरुको प्रचारप्रसार गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने स्वामी ऋषी प्रपन्नाचार्यले बताउनुभयो । मुक्तिक्षेत्रको शिर तथा कालीगण्डकी नदीको मुहान समेत भनिन्छ । दामोदरकुण्डमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला पाइन्छ । मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्छ ।