जनकल्याण माविले विविध कार्यक्रमसहित ६९औं वार्षिकोत्सव मनायो

म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले बुधवार आफ्नो ६९औं वार्षिकोत्सव अर्थात् स्थापना दिवस मनाएको छ । विद्यालयको आयोजनामा विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयले गएको शैक्षिक सत्रमा कक्षा ५ मा उत्कृष्ट अङ्कसहित प्रथम हुने सुमित परियार, द्वितीय सुदिपा परियार, कक्षा ८ मा प्रथम हुने इच्छा बानियाँ, द्वितीय अस्मिता परियार र आयुष बानियाँलाई नगद क्रमशः दुईहजार, एकहजार पाँचसय र सातसय ५० रुपैयाँसहित पुरस्कृत गरिएको थियो । यसैगरी विद्यालयले दिर्घसेवा सम्मान र उत्कृष्ट शिक्षक तथा अभिभावकलाई पनि पुरस्कृत गरेको जनाएको छ।

विद्यालयको बालशिक्षामा लामो समय सेवा गर्नुभएकोमा सुन्तली सुवेदी, कक्षा ८ को नगरपालिकास्तरीय परीक्षामा उत्कृष्ट नतिजा दिलाउन सहजीकरण गर्ने शिक्षक मोहनबहादुर जिसी, शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शिक्षक प्रकाश सुवेदी र उत्कृष्ट अभिभावकतर्फ देवीकुमारी नेपालीलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।

सोही अवसरमा विद्यालयमा स्थापित धनेश्वरी–तारानाथ स्मृति अक्षयकोषको तर्फदेखि संविधानसभा सदस्य रेशमबहादुर बानियाँलाई सम्मानपत्र प्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्र्दै संविधानसभा सदस्य बानियाँले पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या घट्दै गएकाले गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थीको आकर्षण बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा कार्यरत शिक्षकहरुले मेहनतका साथ अध्यापन गराउनुपर्ने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न तथा राम्रो जनशक्ति उत्पादन गर्नको लागि विद्यालय प्रशासन लाग्नुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाको नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीहरुलाई अध्ययनसँगै नगरपालिकामार्फत ‘हामी सक्छौं, हामी गर्छौं’ भन्ने सिपमूलक कार्यक्रममार्फत जोड्ने प्रयास गरिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरुलाई शैक्षिक र भौतिक रुपमा सशक्त बनाएर स्थापित गराउनुपर्ने बताउँदै सामुदायिक विद्यालयलाई सबै क्षेत्र, वर्ग र लिङ्गले अपनत्व गर्नेगरी अगाडि बढाउनुपर्ने बताउनुभयो । साुमदायिक विद्यालयमा सरकारको ठूलो लगानी रहेकाले त्यसको प्रतिफल आउने गरी सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ छ । बेनी नगरपालिका ५ नम्बर वडाका वडा अध्यक्ष गोविन्द बानियाँले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउँदै नगरपालिकाले शैक्षिक सुधारका लागि आवश्यक पहल गरिरहेको बताउनुभयो ।

विद्यालयका भूतपूर्व अध्यक्ष माधवप्रसाद रेग्मी र पूर्व अध्यक्ष रामप्रसाद सुवेदीले आ–आफ्नो कार्यकालमा समग्र विद्यालयको शैक्षिक गुणस्तर बढाउन तथा भौतिक विकासमा जोड दिइएको बताउनुभयो । विव्यस अध्यक्षद्वय रेग्मी र सुवेदीले विद्यालय सञ्चालन गर्नको लागि यसअघि विभिन्न माध्यमबाट आर्थिक सङ्कलन समेत गरिएको बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयमा हल व्यवस्थापन र अन्य संरचना निर्माणको आवश्कता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँ, सम्मानित शिक्षक प्रकाश सुवेदी, साहित्यकार अजयमिलन श्रेष्ठ, विद्यार्थीद्वय इच्छा बानियाँ र करिस्मा किसानले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठको अध्यक्षता, प्रअ पौडेलको स्वागत र शिक्षक शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । वार्षिकोत्सव समारोहको कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।