लेकगाउँमा ‘एक घर, एक धारा’ सहित खानेपानी विस्तार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमसहित खानेपानी विस्तार भएको छ ।

लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एउटा विद्यालय र दुई वटा सामुदायिक भवनमा खानेपानीको पहुँच विस्तार गरिएको हो ।

लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो ।

घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको र पूर्वाधारसहित सुरक्षित खानेपानीलाई ध्यान दिइएको उहाँले बताउनुभयो ।

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो ।

खानेपानी आयोजनाका लागि ट्रष्टको ५० लाख ५४ हजार र स्थानीयवासीको १० लाख ९२ हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल ६१ लाख ४७ हजार रुपैयाँ लगानी भएको छ ।

आयोजना निर्माण शुरू भएको दुई महिनामै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि उपभोक्ता उत्साहित भएका छन् ।