म्याग्दी क्याम्पसका दुई विद्यार्थीले पाए टिम्बुर खेतीका लागि ७ लाख २० हजार अनुदान

विश्वविद्यालय अनुदान आयोगको उद्यमशीलता विकास कार्यक्रमबाट म्याग्दी बहुमुखी क्याम्पसका दुई विद्यार्थीले टिम्बुर खेतीका लागि ७ लाख २० हजार अनुदान पाएका छन्। नमुना लेवल अनुसारको व्यवसाय गर्न क्याम्पसका विएडमा अध्ययनरत छात्रा श्रीया श्रेष्ठ र एमविएसमा अध्ययनरत छात्र श्रीकृष्ण अधिकारीको हिमालयन ट्वाक्क टिम्मुर नामको व्यवसायिक योजना देशभरबाट ४६ वटा व्यवसायिक योजनाहरूमध्येमा उत्कृष्ट भएसँगै निःशुल्क बिउँपूजि पाएको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताउनुभयो

‘यो हाम्रो लागि ठुलो उपलब्धी हो, अब विद्यार्थीलाई उद्यमी बनाउने अभियानमा थप बल पुगेको छ’ क्याम्पस प्रमुख सुबेदीले भन्नुभयो । क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पढाइसँगै उद्यमशिलता तालिमका लागि गरिएको मेहनत सफल भएको भन्दै आगामी दिनमा छनौट भएका विद्यार्थीको ब्यवसायिक सफलतामा समेत आवश्यक रचनात्मक सहयोग गर्ने क्याम्प प्रमुख सुबेदीको भनाई छ ।

क्याम्पसले तीन महिनासम्म उद्यमशीलता तालिममा उत्कृष्ट ५ विद्यार्थी छनौट गरी राष्ट्रियस्तरको प्रतिस्पर्धाका लागि विश्वविद्यालय अनुदान आयोगको उद्यमशिलता सहायता परियोजनामा पठाइएको थियो । २४ वाट क्याम्पसवाट आयोगमा पेश गरिएका १ सय २२ वटा व्यावसायीक योजनाहरु मध्ये म्याग्दी क्याम्पसका श्रेष्ठ र अधिकारीले कुल १० लाख भन्दा बढी लगानी सहितको प्रस्ताव गरेका थिए ।क्याम्पसमा ४० दिने उद्यमशीलता सहायता कार्यक्रममा सहभागी भएर उत्कृष्ट ब्यवसायीक योजना तयार गरी विद्यार्थीको ब्यवसायीक परियोजनामा न्यूनतम साढे ८ लाखदेखि साढे ४० लाखसम्मको लागत पेश गरिएकोमा एउटा प्रस्ताव राष्ट्रि«यस्तरमा छनौटले आगामी दिनमा विद्यार्थीमा आर्कषण हुने सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले बताउनुभयो ।

विद्यार्थीले उद्यमशिलताका लागि प्रस्तुतसँगै म्याग्दी महोत्सवमा समेत स्टलमा ब्यवसाय गरेका थिए । क्याम्पसमा तालिममा विद्यार्थीले विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकबाट व्यवसायिक योजना, व्यवसाय सञ्चालनका अवसर र चुनौती, लागत र लाभ विश्लेषण, बैकिंङ सुविधाको उपयोग, ऋण लगानी लगायत विविध विषयमा सहजीकरण गरिएको परियोजना संयोजक रामजीप्रसाद सुबेदीले बताउनुभयो । उक्त विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि सैद्धान्तिक, अध्ययन अवलोकन भ्रमण, विषय विज्ञ र सफल उद्यमीहरूको अनुभवका लागि जिल्ला बाहिर समेत लगिएको थियो