शिक्षकहरुले गरेको लामो आन्दोलन पछि भएको सहमतीले यतिका लामो आन्दोलन नै आवश्यक नरहेको जस्तो बनाएको नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जंगबहादुर गर्बुजाले बताउनु भएको छ
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १४ औं जिल्ला अधिवेशनमा बोल्दै उहाँले उक्त धारणा राख्नु भएको हो । झण्डै एक महिना लामो आन्दोलन गर्दा पनि शिक्षकहरुले गरेको आन्दोलन अनुसारको उपलब्धी मिल्यो मिलेन भनेर प्रश्न उठाउने अवस्था सृजना भएको उहाँको धारणा थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज यामबहादुर कुँबरले राज्यको हरेक ठाउँमा आफ्नो अमुल्य योगदान दिने शिक्षकको पेशा मर्यादित हो र यसलाई जोगाइ राख्नु पर्ने बताउनुभयो । उहाँले शिक्षकको मर्यादा र सम्मान अरुले दिने भन्दा पनि आफूहरुले नै व्यवस्थीत गर्नुपर्ने उहाँको तर्क थियो ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रामप्रसाद पोखरेल, सदस्य गोविन्द भण्डारी, गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेल, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायतले बोल्नु भएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीका अध्यक्ष लेखबहादुर हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भीमबहादुर घर्तीले गर्नुभएको थियो । अधिवेशनको बन्दशत्रले नयाँ समिति चयन गर्ने उपाध्यक्ष रमेशसिं ठकुरीले जानकारी दिनुभयो ।