बाँदर लखेट्न पालो बाँडेर ‘ड्युटी’ !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ । एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो साउन आठ गतेसम्मका लागि हो ।

बाँडिएको पालो भने हरेक दिन बिहानदेखि बेलुकासम्म बाँदर लखेट्नका लागि तयार गरिएको हो । भित्राउने बेलाको मकै बाँदरले सखाप पार्न थालेपछि अधिकारी फाँटमा खेतीपाती गर्दै आएका कृषकहरूले ‘ड्युटी’ नै बाँडफाँट गरेर बाँदर लखेटिरहेका छन् । पालो अनुसारका व्यक्तिहरू बिहान उठेदेखि साँझसम्म नै फाँटमा खटिरहेका हुन्छन् ।

अधिकारी फाँट सहित अन्य क्षेत्रमा समेत बाँदरले निकै दुःख दिने गरेको छ। राम्रो उत्पादन हुने र कसैले पनि जग्गा बाँझो नछाडेको अधिकारी फाँटमा उत्पादन हुने खाद्य बस्तु बाँदरको पहिलो रोजाइमा छ । लगाएको बाली सबै सखाप नै पार्ने गरेपछि विगतदेखि नै कृषकहरूले पालो बाँडेर खेती जोगाउने गरेको कृषक गंगाधर अधिकारीले बताए । फाँटमा जस जसले खेती गरेका छन् उनीहरूको बैठक बसेर बाँदर लखेट्ने पालो लगाउने गरिएको उनको भनाइ छ ।

‘पोहोर परार नि यस्तै गरेको हो। जेठदेखि साउनसम्म कुनै दिन नछुटाई बाँदर लखेट्ने हो । फाँटमा खेती जो जो ले गरेका छन्, उनीहरूको ड्युटी बाँडेर ठाउँ ठाउँमा टाँसिन्छ । आफ्नो पालो अनुसार बिहान उज्यालो भएपछि साँझसम्म नै बाँदर धपाउने हो,’ अधिकारीले भने, ‘चेच्चे भन्दै लखेट्दै गर्छौँ। साना साना ढुङ्गाले हान्ने, लौरा र झटारा फाल्ने, कुकुर पनि लैजाने, कोहीले गुलेलीले हान्ने हो। पालोमा परेकाले मात्रै नभ्याए अरूलाई नि खबर गरेर बोलाउने हो ।’

अर्का कृषक खगराज अधिकारीले पनि पालो अनुसार नबस्ने हो भने उत्पादनयोग्य भूमिमा खेती नगरी बाँझै छाड्नुपर्ने स्थिति आउने बताए । दैनिक सयौँको संख्यामा आउने बथानले एकैछिनमा खेती सखाप पार्न सक्ने भन्दै उनले आजभोलिका बाँदर समेत अटेर भएको सुनाए ।

ग्रामीण क्षेत्रबाट बसाइँ सरेर सहरमा जाने क्रमले ग्रामीण क्षेत्रमा जमिन बाँझो छाड्ने क्रम बढिरहेको छ । गाउँमा बसिरहेकाहरूले जसोतसो खेतीपाती गरे पनि बाँदरले सखाप पार्दा कृषकहरू निराश छन् । आफ्नो आर्थिक अवस्थाका कारण बजार नजाने तथा बजारभन्दा गाउँकै वातावरणमा रमाउनेहरूले खेती गर्ने गरेका छन् । तर बजार छिरेकाहरूले जग्गा बाँझो राख्ने र उत्पादनयोग्य भूमिमा बिरुवा हुर्काउँदा बाँदरका लागि राम्रो वातावरण बनेको छ ।

धेरै व्यक्तिहरूले खेतीपाती गरेका भए बाँदर बाली खाए पनि सबै कृषकलाई थोरै थोरै क्षति हुने र बाँदरलाई पनि आहार पुग्ने थियो । तर, पाखा र खोल्साका जमिनहरू छाडेर केही राम्रो भूमिमा मात्रै खेतीपाती गर्दा बाँदरलाई खाद्य अभाव भएको छ ।