आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात विताएर विहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र पैदलयात्रा गरी मालिकाधुरी पुगेर फर्किन दुई दिन लाग्थ्यो । भौगोलिक रूपमा विकट र दुर्गम मालिकाधुरीमा निर्मित सत्तल र ओडारमा बस्ने ठाउँ पाउनै मुस्किल हुन्थ्यो ।
म्याग्दीको मालीका, रघुगंगा र मंगला गाउँपालिकाका विभिन्न पदैलमार्गबाट मन्दिरमा जाने भक्तजनको ताँती देखिन्थ्यो । सडक सञ्जालबाट छोडेर साँधुरो बाटोमा घाँसको सहायतामा मन्दिरसम्म उक्लिने भक्तजनहरूलाई अहिले सडक सञ्जाल र पदमार्गको विस्तारसँगै निकै सहज भएको छ ।
आधा दशक अगाडीसम्म जोखिम मोलेर यात्रा गर्ने भक्तजनलाई अहिले निकै सहज भएको छ ।रातभरी खुल्ला आकाशमा विताएर पूजाआजा गर्नेहरु अहिले सडक सञ्जाल, पदमार्गका कारण उत्साहित छन् ।
विहानै सदरमुकाम बेनीबजार, जिल्लामा अन्य ग्रामिण क्षेत्रबाट मालिकाधुरी नजिकै पुगेको सडकसम्म सवारीसाधन राखेर करिब एक घण्टाको पैदलयात्रामा मन्दिरमा पुगेर पूजाआजा गरेसँगै फर्किन सकिन्छ । समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा मालिका गाउँपालिका–७,बिम र वडा नं ६ दरबाङको दुखु, रघुगङ्गा गाउँपालिका–६, ठाडाखानीबाट मालिकाधुरी नजिकै सडक पुगेको छ ।
‘सडक सञ्जाल छोडेर करिब एक घण्टाको पैदलयात्रा पछि मन्दिरमा पुग्न सकिन्छ । सडक बनेपछि रातमा आउने भन्दा धेरै पूजाकै दिन आउने गरेका छन्’मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।
अध्यक्ष पाईजाका अनुसार ज्येष्ठी पूर्णिमामा पूजाका लागि भक्तजनहरु बाहिरी जिल्लाबाट समेत उही दिन आएर फर्किएका थिए । मंगला गाउँपालिकाको कुहुँ, पुर्णगाउँ र थाईवाङ र हिँदीबाट पैदलमार्गको प्रयोग गरी आउने बाहेक अन्य रुटबाट आउने भक्तजनलाई सडक सञ्जालले मालिकाधुरीमा रात विताउनुपर्ने बाध्यता हटेको अध्यक्ष पाईजाको भनाई छ।
मालिकाधुरीमा पूजाआजाका लागि पुगेका बेनीका किरन कार्कीले अघिल्लो रात बास बस्नेभन्दा धेरै पूजाकै दिनमा पुग्नेको भिड रहेको बताउनुभयो । पहिले सडक छोडेर ३ घण्टासम्म पैदलयात्रा गर्नुपथ्र्यो, यसपटक एक घण्टामै मन्दिरमा पुगियो’ यूवा कार्कीले भन्नुभयो ।
मालिकाधुरीलाई मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाले प्राथमिकतामा राखेर सडक, खानेपानी सहित अन्य पूर्वाधार विस्तार गरेका छन् । अहिले मन्दिरमा मालिका र रघुगंगाले खानेपानी तथा अन्य पूर्वाधार समेत विस्तार गरिरहेको छ । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले मालिकाधुरीका लागि हरेक बर्ष गाउँपालिकाले बजेट विनियोजन गर्ने गरेको बताउनुभयो ।
मालिकाधुरी जाने पर्यटकलाई सडकसँगै बिममा रहेको प्रभुचेला धुरी सहित अन्य धार्मिकस्थलको अवलोकनका लागि समेत गाउँपालिकाले प्राथमिकता दिएको छ ।त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले समुदायको समेत लगानीमा सडक सञ्जालको विस्तार तथा बजेटमार्फत मालिकामा जान सहज बनाइएको बताउनुभयो ।
मन्दिरमा सरकारी बजेट बाहेक ब्यक्तिगत रुपमा समेत लाखौं खर्चिएर मन्दिर तथा अन्य पुर्वाधार विस्तार भइरहेको छ । हाल पाखापानीकी थममायाँ पाईजाको परिवारबाट करिब २२ लाखभन्दा बढीको लगानीमा मन्दिर बनाउने काम भइरहेको छ । पुजाआजा बाहेक पर्यटक समेत घुम्न मालिकाधुरी पुग्ने गरेका छन् । एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ। त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् ।
कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ। मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ । आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा,चुरेन,पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् । विसं १९१० देखि पूजाआजा हुने गरेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलिको विकल्पमा नरिबल चढाउने चलन बसाइएको छ । भगवान् शिव र पार्वती भ्रमणमा आएका बेला पार्वतीको माला खसेकाले मालिका नाम रहन गएको किंबदन्ती रहेको छ।