१६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा भएको प्रतियोगितामा २७ स्वर्ण, १० रजत र ११ कांस्य पदक जित्दै कास्की उपाधि विजेता बनेको छ भने ११ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेर म्याग्दी दोस्रो भएको छ ।
म्याग्दीले यसपटक प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो अब्बल खेल देखाउन सफल भएको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको नेतृत्वमा खेलाडी, प्रशिक्षक सहितको टोली गोरखा पुगेको महासचिव कुमार किसानले बताउनुभयो । प्र्रतियोगितामा म्याग्दीले प्राप्त गरेको नतिजा सन्तोषजनक भएको र कमीकमजोरीलाई आगामी प्रतियोगितामा सुधार गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । प्रतियोगितामा १० स्वर्ण, १० रजत र १० कांस्य पदक जितेर बाग्लुङ तेस्रो बनेको छ । ७ स्वर्णसहित ५ रजत र ४ कांस्य जितेर गोरखा चौथो र ६ स्वर्ण, १४ रजत र १२ कांस्य जितेर नवलपुर पाँचौं बनेको छ ।
यस्तै ४ स्वर्ण, ६ रजत र १० कांस्य पदक जित्दै लमजुङ छैटौं, २ स्वर्ण ६ रजत र १७ कांस्य पदक जितेर तनहुँ सातौं, २ स्वर्ण, ४ रजत र ७ कांस्य पदक जितेर स्याङजा आठौं, १ स्वर्ण, ३ रजत र ७ कांस्य जितेर पर्वत नवौं बनेको छ ।प्रतियोगिताको विभिन्न खेलमध्ये गोरखा नगरपालिका–६ स्थित हरमटारी खेलमैदानमा भलिबल र कबड्डी (महिला÷पुरुष), कभर्ड हलमा तेक्वान्दो र कराते खेल भएका थिए । त्यस्तै गोरखा नगरपालिका–१० छेवेटार स्थित खेलकुदमैदानमा एथलेटिक्स र उसु खेल सञ्चालन भएको थियो ।