म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले आयोजना गरेको नबौ मोना कपको खुल्ला पुरुष भलिबल तर्फको उपाधि आयोजकले जितेको छ । फाइलनलमा पोखरा भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै मोनाले उपाधि जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट लिबेरो राजेश हमाल, ब्लकर पारश भण्डारी,सेटर दीपक थापा मगर, स्पाइकर मानबहादुर श्रेष्ठ र उत्कृष्ट खेलाडी रबिन चन्द ठकुरी घोषित भएको मोना अस्ट्रेलियाका प्रबक्ता गकुल भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै महिला भलिबलमा म्याग्दी काली युनाइटेडले उपाधी जितेको छ भने उपविजेता छन्त्याल परिवार अष्ट्रेलियाले जितेको छ। महिलातर्फ सर्वोत्कृष्ट डिफेन्डर सञ्जु पुर्जा,उत्कृष्ट खेलाडी सरस्वती चौधरी,सर्वोत्कृष्ट सेटर मिया पुन, सर्वोत्कृष्ट सर्भर आशा क्षेत्री र सर्वोत्कृष्ट स्पाइकर कामना विष्ट हुनुभएको छ ।
त्यस्तै बास्केटबल प्रतियोगिताको उपाधी वाइल्ड याक्स,उपविजेता स्लेयर्स बास्केटबल भएको छ । प्रतियोगितामा लिग एमभीपी कुङ्गा शेर्पा, सर्वाधिक स्कोरर–अनिश शाही ठकुरी, एभीपी कर्मा लामा,उत्कृष्ट प्रतिभाशाली खेलाडी गणेश मल्ल, पोइन्ट गार्ड मिलन पुरी डिफेन्डर राकेश श्रेष्ठ,फेयर प्ले टोली नेपाली बास्केटबल एडिलेड र उत्कृष्ट खेलाडी तुफान शाही ठकुरी घोषित भएको मोनाका महासचिव बाबुराम पौडेलले बताउनुभयो ।
सोही अवसरमा आयोजित भेटान्स प्रतियोगितामा मोना अस्ट्रेलिया विजेता भएको छ । प्रतियोगिताको अवसरमा अध्यक्ष शुसन श्रेष्ठले म्याग्दी जिल्लालाई चिनाउने फोटो प्रतियोगिता, खेलकुद सहित अन्य विभिन्न सामाजिक कार्यमार्फत मोनाले कर्मभुमी र जन्मभुमीमा आफ्नो जिम्मेबारी पुरा गरेको बताउनुभयो ।