सिटिजन्स बैंक इन्टरनेसनल बेनी शाखाले बेनी नगरपालिका वडा नं ६ जामुनाखर्कमा प्रतिक्षालय निर्माण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत करिब ५० हजारको लागतमा निर्मित प्रतिक्षालयको बैंकका गण्डकी प्रदेश प्रबन्धक हरिप्रसाद घिमिरेले वडा अध्यक्ष कृष्णसिङ बानियाँलाई हस्तान्तरण गर्नुभएको छ ।
सोही अवसरमा वडा अध्यक्ष बानियाँले यसअगाडी पनि बैंकले वडामा स्वास्थ्य शिविर सञ्चालन गरेको बताउँदै वित्तिय संस्थले ग्रामिण बस्तीमा जनतालाई सहज हुने गरी सेवा दिनुपर्ने बताउनुभयो ।
प्रतिक्षालयमा जामुनाखर्कका स्थानीय,विद्यार्थी तथा बर्षातको समयमा सहज हुने शाखा प्रबन्धक सुमित सुबेदीले बताउनुभयो । उक्त, स्थानमा प्रतिक्षालयको आवश्यकता रहेको स्थानीयको माग अनुसार नै निर्माण गरिएको शाखा प्रबन्धक सुबेदीको भनाई छ । गतबर्ष बैंकले बेनी अस्पताललाई दुईवटा वाटर फिल्टर सहयोग प्रदान गरेको हो ।
बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने योजना रहेको प्रदेश प्रबन्धक घिमिरेको भनाई छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर २ सय वटा शाखा, १६८ वटा एटिएम र ३ वटा काउन्टर र ७४वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।