म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका ५ मल्काबाङका २१ वर्षिय रोहन छन्त्याल गाउँमै रमाएर बस्नुभएको थियो । १२ कक्षा पासगरी दुई वर्ष गाउँकै भिरपाखा, खर्क र बुकीहरुमा गाईवस्तु,भेडाबाख्रा चराउँदै साथीहरुसँग रमाइलो गरी बस्नुभएका छन्त्यालले अब भने विदेश जाने तयारी गर्नुभएको छ ।
सँगैका दौतरीहरु कोही बसाइसराइ गरेर बेनी, पोखरा, चितवन र काठमाडौं गइसकेका र कोही विदेश गएकाले उहाँ गाउँमा एक्लिनुभएको थियो । एकलोपनबाट दिक्क लागेपछि उहाँले विदेश जाने तयार गरेको बताउनुभयो ।
“आफ्नो उमेरका र आफूसँग मिल्ने साथीहरु गाउँमा एउटै छैनन्, गाउँमा एक्लै के गरेर बस्ने ? बाध्य भएर विदेश जान लागेको हुँ”उहाँले भन्नुभयो ।
त्यसैगरी सदरमुकाम बेनीबजारको नजिकै रहेको बेनी नगरपालिका वडा नं ३ तोराखेतका बुद्धिबहादुर खत्री दुखजिलो गरी जीवन कटाउन कठिन भयो भनेर सुविधा र रोजगारीको खोजीमा भएको जग्गा जमिन बेचेर तराईको नवलपुर बसाइँ सर्नुभयो । गाउँमा तरकारी खेती र पशुपालन गरी आम्दानी गर्दै आउनुभएका खत्री बढी कमाउने र थप सुविधा पाइन्छ भन्दै तराईमा बसाइँ सर्नुभएको हो ।
छन्त्याल र खत्री त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । पछिल्लो समय बसाइँसराइ र विदेश पलाएनका कारण जिल्लाका उपल्लो भेगका लेकाली वस्तीहरु पनि रित्तिदै जान थालेका छन् । बुकी र खर्कहरुमा भेडा र गाईवस्तु चराउदै साथीहरुसँग गफिने युवाहरु पछिल्ला केही वर्षयता गाउँघरमा भेटिन छोडेका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रहरुमा पूर्वाधार विकासले प्रशस्तै सुविधाहरु प्रदान गरेको भएपनि ती सुविधा र विकासका पूर्वाधारहरुलाई प्रयोग गरी लाभान्वित हुने युवाहरु गाउँ छोडेर सहर र सहरबाट विदेश पलाएन भइरहेका छन् ।
पहिले गाउँमा सुविधाहरु भएनन् । दुःख पाइयो भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकासले गाउँलाई सहरसँग जोडिदिए पछि सहरबाट युवाहरु गाउँ फर्किनु पर्नेमा गाउँबाट सहर झरेर विदेश पस्नेक्रम बढ्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।
गाउँका टोलबस्तीमा सडक सञ्जाल पुगेको छ, बाटाहरू स्तरोन्नत हुँदै गएका छन् । ग्रामीणस्तरमा नै १२ कक्षा सम्मको पढाइ हुने विद्यालयहरु बनेका छन् । सूचना प्रविधि र सवारी साधनको पहुँचले गाउँ र सहरको दुरी घटाएको छ । पालिकास्तरमै सुविधासम्पन्न १५ शैयाका अस्पताल निर्माणाधीन छन् तर, गाउँबाट बसाइँसराइको दर भने झन बढ्दै गइरहेको छ ।
म्याग्दी र मुस्ताङका हिमाली क्षेत्रका खर्क र वस्तीहरु रित्तिदै जान थालेका छन् । दुई दशक अघिसम्म चौंरी र भेडाका वथान लिएर हिमाली खर्क र बुकीहरुमा देखिने युवा जनशक्ति अहिले खाडी मुलुकमा ऊँट गोठालो बन्न वाध्य भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ वयेलीका २८ वर्षिय युवा दिनेश रम्तेल,मुस्ताङको थासाङ गाउँपालिका वडा नं ५ कुञ्जोका २५ वर्षिय हिरा थकाली र मुस्ताङकै घरपझोङ गाउँपालिका वडा नं १ छैरोका छेम्वा गुरुङ खर्कमा चौरी र भेडा चराउन छोडेर खाडी मुलुक लागेको ५ वर्ष भयो । हिमाली क्षेत्रका रम्तेल थकाली र गुरुङ जस्तै सयौं युवाहरु परम्परागत पेसा र समुदायको परम्परालाई छोडेर साउदी अरब,कतार र युएईमा ऊँटको हेरचाहा गर्ने र भवनहरु बनाउने काममा मजदुरी गर्न वाध्य छन् ।
“जसका लागि भनेर विकासका पूर्वाधारहरु निर्माण गरियो, त्यही नै देश छोडेर हिंडे पछि विकासको उपयोगिता कसरी पुष्टि हुन सक्छ र ?” म्याग्दीको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्व अध्यक्ष एवम् सामाजिक विकासका अध्येता शिव वानियाँले भन्नुभयो “युवा जनशक्तिलाई लक्षित गरेर गाउँ गाउँमा विकासका पूर्वाधारहरु निर्माण गरिए,सडक बने,कृषि र पशुपालनका लागि अनुदानको व्यवस्था गरियो,अरु धेरै कामहरु भए,तर अनुदानको रकम लिएर त्यही सडक हुँदै युवा जनशक्ति मोटर चढेर कति सहर पसे,कति विदेश हिंडे,अब विकास कसका लागि भनेर वहस गर्ने बेला आएको छ ।”
युवा पलायनको असर नेपालका हिमाली तथा पहाडी जिल्लाका ग्रामीण वस्तीहरुमा नराम्रोसँग देखिन थालेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
नेपालका पर्यटन तथा वनस्पतिविद् डा. तीर्थ श्रेष्ठका अनुसार समुदायको शक्तिमा टिकेको नेपालमा यहाँको युवा जनशक्तिलाई सरकारले योजनाबद्ध तवरमा विकास कार्यमा उपयोग गर्न नसक्दा युवा जनशक्ति पलाएनको समस्या तिब्र बन्दै गएको र विकासको उपलव्धी उपयोग बिहीन हुन थालेको छ ।
म्याग्दीबाट वर्षेनी विदेशिने युवाहरुको लर्को लाग्ने गर्दछ । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ जनाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।
राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक ब्यक्तिको राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापान संगै खाडी मूलुकमा रोजगार, ब्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसंगै राहदानी बनाउनेहरुको संख्या बढेकोे छ ।
अध्ययनका लागि विदेश पलायन हुने अधिकाँश अध्ययनका लागि भन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । विदेश जानेमा हिमाली र पहाडी क्षेत्रका युवाहरु बढीरहेको तथ्याङ्कले देखाएको छ ।