अपर म्याग्दी-१ जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सुरु

म्याग्दीको धवलागिरि गाउँपालिका-४ खाम्लामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माणको काम शनिबार (जेठ २४ गते) देखि सुरु गरिएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले  आयोजनाको विद्युतगृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ  निर्माणको शुभारम्भ गरेका हुन् । सुरुङ एकहजार, आठसय ६५ दशमलव ९५ मिटर लामो हुने आयोजना प्रमुख ज्योति कुमार केसीले जानकारी दिए ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले मुख्य पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको जनाएको छ । आयोजना प्रमुख केसीले हालसम्म २४दशमलव ४५ प्रतिशत भौतिक प्रगति र २१ दशमलव ४८ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए ।

म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ ।
आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनोट कार्य अन्तिम चरणमा पुगेको र १३२ केभी प्रशारण लाइनको अध्ययन कार्य भइरहेको आयोजना प्रमुख केसीले बताए ।

आयोजना प्रमुख केसीका अनुसार धवलागिरि गाउँपालिका वडा नं ४ खाम्लामा बाँध निर्माण गरेर ३३ दशमलव ६ घनमिटर प्रतिसेकेण्ड पानी प्रयोग गरी पाँच हजार,सात सय ८९ दशमलव ६९ मिटर लामो हेडरेस सुरुङतथा ६ सय ९२ मिटर लामो पेनस्टक मार्फत मालिका गाउँपालिका ७ भारबाङमा निर्माण हुने विद्युत गृहमा दुईवटा फ्रान्सिस टर्वाइनबाट ५३ दशमल ५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

यसरी उत्पादन गरिएको विद्युत मालिका गाउँपालिकाको डाँडाखेतमा निर्माण भइरहेको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनको प्रणालीमा आवद्ध गराइने आयोजना प्रमुख केसीले बताए ।

अपर म्याग्दी १ जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबिच भएको विद्युत खरिद विक्री सम्झौता अनुसार आयोजनाले २०८३ सालको फागनु २१ गतेदेखि विद्युतको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने आयोजना प्रमुख केसीले जानकारी दिए ।

‘विसं २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ,सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिव्रता दिएका छौं’ आयोजना प्रमुख केसीले भने ।

सानीमा बैंकको नेतृत्वमा ६ वटा बैङ्कको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण हुने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हुने छ ।