जिल्ला प्रहरी कार्यालय म्याग्दीको सभाहलमा आज बेनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत “सुरक्षित वैदेशिक रोजगार, ठगी तथा मानव बेचबिखन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामीछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापा, प्रमुख अनुसन्धान अधिकृत सबिन श्रेष्ठ, सामी कार्यक्रमका प्रतिनिधिहरू, तथा जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी अधिकृत र जवानहरुको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्देश्य सुरक्षित आप्रवासन, वैदेशिक रोजगारीमा हुने ठगी, मानव तस्करी जस्ता मुद्दामा प्रहरी तथा स्थानीय तहबीच समन्वय सुदृढ गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
सहभागी वक्ताहरूले वैदेशिक रोजगारीमा जाने क्रममा देखिएका चुनौती, दलालहरूको संजाल, र मानव बेचबिखन विरुद्धको कानुनी प्रावधानका विषयमा विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले यस किसिमका कार्यक्रमहरूले उनीहरूको कार्यदिशा थप स्पष्ट बनाउन सहयोग पुगेको बताएका छन्।