जिल्लाको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट स्थित बगरफाँटमा बगरफाँट–कोटखोला सतह तथा भूमिगत सिंचाइ योजनाको मुहान निर्माण गरिएको छ ।
जलश्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा गण्डकी प्रदेशबाट प्राप्त रु २० लाखको लागतमा कोटखोलामा पक्की मुहान निर्माण गर्नुका साथै दुधेखोलाको पुरानो सिंचाइ नहर मर्मत गरेको बगरफाँट–कोटखोला सतह तथा भूमिगत सिंचाइ योजनाका सचिव नारायण कार्कीले जानकारी दिनुभयो ।
“चालु आर्थिक वर्षमा नहरका लागि मुहान निर्माण शीर्षकमा रु २० लाख बजेट बजेट प्राप्त भएको थियो । सोही बजेटको परिधिमा रही मुहान निर्माण गरिएको हो । आगामी आर्थिक वर्षमा प्राप्त हुने बजेटबाट भूमिगत र सतह दुवै नहर निर्माण गरी बगरफाँटको खेतीयोग्य जमिनमा सिंचाइको व्यवस्था गर्ने योजना रहेको छ” सचिव कार्कीले भन्नुभयो ।
ठाडो र भिरालो खोल्साबाट बगेर आएको कोटखोलामा बाँध बाँधेर पक्की मुहान निर्माण गरिएको छ । मुहानको सात मिटर तलबाट बाँध उठाइ पोखरी निर्माण गरिएको र नहरमा बढि हुने पानी मुहानको पोखरीका लागि उठाइएको बाँधको माथिल्लो भागबाट नै बग्ने गरी निकासको प्रवन्ध मिलाइएको जलश्रोत तथा सिंचाइ विकास सव–डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।
कार्यालयका ईन्जिनियर किसान पौडेलले यस वर्ष सतह तथा भूमिगत सिंचाइको डिपिआर तयार गर्ने र अर्को वर्षदेखि नहर निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो ।
क्रमागत बजेट अनुसार काम गर्नुपर्ने भएकोले यसको पूर्ण लागतको भने निश्चित भइसकेको छैन ।बगरफाँट खाद्यान्न उत्पादनका हिसावले जिल्लाकै उर्वर जमिन भएको गाउँ हो । वर्खामा ठाडो खोलामा कच्ची मुहानबाट पानी ल्याइँ रोपाइँ वा सिंचाइ गर्दा बाढीका कारण नहर वा कुलो बिग्रने,बाढीले बगाइदिने समस्या रहेको छ ।
हिउँदमा सिंचाइका लागि पानीको भरपर्दो स्रोत नहुँदा किसानहरु समस्यामा पर्ने गरेका स्थानीय दिनेश कार्कीले बताउनुभयो।बगरफाँटमा दुईसय रोपनी भन्दा बढी खेतको फाँट छ । यो फाँटमा सिंचाइको पर्याप्त सुविधा हुने हो भने विभिन्न किसिमका मौसमी वा बेमौसमी तरकारी,फलफूल र खाद्यान्न बालीको समेत खेती गर्न सकिने योजना उपभोक्ता समितका उपाध्यक्ष धनबहादुर घिमिरेले बताउनुभयो ।
योजना सम्पन्न भएपछि परम्परागत रुपमा सञ्चालन हुँदै आएका साविकका कुलाहरुलाई मर्मत र आवश्यक ठाउँमा पुननिर्माण गरी बगरफाँटका दुधेखोलादेखि बाङ्गेघरासम्मका सबै ठाउँमा सिंचाइका लागि पानी पु¥याइने योजना उपभोक्ता समितिका सचिव कार्कीले बताउनुभयो ।
“दुधेखोलाको पुरानो सिंचाइ कुलो मर्मत गरिएको छ । त्यहाँबाट ल्याइने पानी र कोटखोलाको मुहानबाट ल्याइने पानीलाई मिसाई वितरणको व्यवस्था मिलाइने योजना बनाएका छौँ” सचिव कार्कीले भन्नुभयो ।खहरे खोलामा डिवबोरिङ (पाइपलाई जमिनमा गाडी जमिन भित्रको पानीलाई मेसिन (पम्प) मार्फत बाहिर निकाली नहरमा पठाउने तरिका) प्रविधि प्रयोग गरिने उहाँले बताउनुभयो ।
योजना निर्माण पछि उक्त क्षेत्रमा बसोबास गर्ने २ सय ८० घरधुरीका १ हजार ९ सय ७५ जनसंख्याले लाभ लिने उहाँले बताउनुभयो ।अन्नबाली तथा नगदेबाली लगाउनका लागि यहाँ खेतीयोग्य जमिन धेरै छ । तर सिंचाइको अभावमा किसानले उत्पादनमा वृद्धि गर्न सकेका छैनख् । सिंचाइ योजना निर्माण भएपछि विभिन्न किसिमका मौसमी र बेमौसमी बाली लगाउन सकिने, तरकारी उत्पादनमा वृद्धि हुने, किसानको अवस्था सुधार हुने र आम्दानीमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सिंचाइ सुविधा भएपछि खाद्यबालीका साथै केरा,सुन्तला, किबीलगायत फलफूल र तरकारी खेती गर्न सहज हुने स्थानीयवासी टेकबहादुर पोख्रेलले बताउनुभयो ।