पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित १४ वटा रोजगार योजनाबाट दुईसय १० जना स्थानीयले रोजगारी पाएका छन् ।
चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा विभिन्न १४ वटा योजना सञ्चालन गरिएको र ती योजनहरुमा दुईसय १० जना स्थानीयले रोजगारी पाएका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
योजना कार्यान्वयनका लागि सबै योजनाका रोजगार उपभोक्ता समिति गठन गरी योजना सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ ।
रोजगार कार्यक्रम मार्फत पदमार्ग निर्माण, मर्मत सम्भार, गोरेटो बाटो र सार्वजनिक शौचालय निर्माण लगायतका योजनाहरू निर्माण भइरहेका छन् । सञ्चालनमा रहेका ती योजनाहरुमा स्थानीयले न्यूनतम एकसय दिन रोजगारी प्राप्त गर्ने अध्यक्ष गर्बुजाले बताउनुभयो । रोजगार कार्यक्रममा सहभागि स्थानीयलाई तालिम र सुरक्षा सामग्री समेत प्रदान गरिएको छ ।
रोजगार कार्यक्रमअन्तर्गत पालिकाको वडा नम्बर ७ बिममा नरालेदेखि बिम्बाङ्गसम्म र वडा नम्बर ३ सिउदीभिर–औल पदमार्ग निर्माण सम्पन्न गरिएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि सर्वसाधारणहरूलाई आवतजावत गर्न सहज भएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा पालिकालाई प्राप्त भएको बजेट मध्य रु पाँच लाख ६७ हजारको लागतमा डाँडागाउँको सिउदीभिरदेखि औलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको गाउँपालिकाका रोजगार सहायक सुवेदीले जानकारी दिनुभयो । भिर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उहाँले बताउनुभयो । पदमार्ग निर्माण गरिएपछि वडावासीलाई आवतजावतमा सहज भएको उहाँले बताउनुभयो ।
यसैगरी, चार लाख १४ हजार रुपियाँ लागतमा बिम नरालेदेखि बिम्बाङ्ग सम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको छ ।
चालु आर्थिक वर्षमा विनियोजन भएका विभिन्न १४ वटा योजना मध्य तीन वटा योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिमचरण पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले बताउनुभयो । योजना कार्यान्वयनका लागि प्रत्येक वडामा गठन भएका रोजगार उपभोक्ता समितिहरू सक्रिय भएको उहाँले बताउनुभयो ।