मालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस

म्याग्दीको मालिका गाउँकार्यपालिकाको निर्वाचनमा गठबन्धन तोड्दै माओवादी फ्लोर क्रस गरी एमालेलाई सहयोग गरेको छ। आज भएको कार्यपालिका सदस्य निर्वाचनमा गठबन्धन दलका बीच भएको सहमति विरूद्द फ्लोर क्रस गरेर एमाले र माओवादी केन्द्रका कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनको बहुमत रहेको कार्यपालिकामा नेकपा एमालेबाट प्रतिक्षा विक,मनकुमारी पुन, विजय भएका छन् भने नेकपा माओवादी केन्द्रबाट दलबहादुर खड्कथोकी, देवी पटेल र एकिकृत समाजवादीबाट अनुप गौचन विजय भएका छन् ।

स्थानीय तहको निर्वाचनमा तिक्ततापूर्ण सम्बन्ध रहेको सत्ता गठबन्धनले कार्यपालिकामा सहकार्य गरेपनि मतदान प्रक्रियामा माओवादीले एमालेलाई सघाएको छ ।माओवादी र एमाले बिचको सहकार्य पनि आश्चर्यजनक देखिएको छ । गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष खरमायाँ विटालु र निर्वतमान कार्यपालिका सदस्य गौमती चापागाईलाई भने पराजित गरिएको छ ।

िवटालु कार्यपालिका हुदैं जिल्ला समन्वय समितिमा आउने तयारी थियो । पार्टीले उपाध्यक्षको टिकटमा चलाखी गरेपनि विटालुले पार्टीलाई जिताउन निरन्तर फिल्डमा सक्रिय भएपनि कार्यपालिकामा प्रतिनिधित्वमा असहयोग गरिएको छ ।

कार्यपालिकामा अनुभवी भन्दा पनि नयाँलाई अवसर दिन खोजेजस्तै गरी एमालेबाट समेत प्रतिनिधित्व भएको छ । यता सहमति बाहिर गएर नेकपा माओवादीले राजनीतिक इमान्दारिता उल्लंघन गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ भने नेकपा माओवादीले भने प्रतिक्रिया दिएको छैन।जिल्लाका अन्य स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिचको सहकार्यलाई समेत मालिकामा भएको गतिविधिले झस्काएको बताइएको छ ।