दशैंले नछोएको चित्रकार अमृत सिर्पालीको दैनिकी

नेपालीहरुको महान चाड दशैतिहार नजिकिएसंगै गाउँघरमा रौनकता छाएको छ। कोरोना भाइरसको संक्रमको जोखिमसँगै पढाई तथा रोजगारीको लागी घरबाहिर रहेकाहरु समेत गाँउमा फर्किएपछि चाडपर्वको माहोल ह्वात्तै बढेको छ ।

आफ्ना महत्वपूर्ण कामलाई छोडेर गाउँघर तिर जानेको भिड लागेपनि म्याग्दीका चित्रकार अमृत सिर्पालीको दैनिकी भने उस्तै छ । हरेक दिनजस्तै विहानै उठेर नियमित काममा निस्कने गरेका सिर्पालीले कामले चाडपर्वको रौकता नै हराएको बताउँछन् ।

‘चाडपर्वमा घरमा जानुपर्छ, यसपटक थ्रि डि आर्ट (3D Painting) को कामले छिट्टै घर जान पाईन’ बेनीको न्यूरोडमा रहेको डालो रेष्टुरेन्टमा भित्तेलेखनमा ब्यस्त रहेका सिर्पालीले भने । उनले ब्यवसायसँगै परिवारलाई समेत समय दिनुपर्ने अवस्थामा दशैंको अघिल्लो दिन घर जाने गरी काम सक्ने तयारीमा रहेको बताए ।एकदिन घरमा बसेर पुनः काममा फर्किनुपर्ने अवस्था रहेको बताए । जिल्लाबाहिर रहेकाहरु गाउँघरमा फर्किएसंगै चहलपहल भएपनि कोरोनाको जोखिमले यसपटक चाडपर्वलाई औपचारिकतामा सिमित गर्नुपर्ने बाध्यता रहेको बताए ।

उनले सार्वजनिक ठाउँमा कोरोना (भाइरस) सम्बन्धी सन्देशमुलक भित्तेलेखनसँगै विभिन्न रेष्टुरेन्टमा समेत थ्रि डि आर्टबाट राम्रो आम्दानी गरेका छन् । सरकारले गरेको लामो लकडाउनमा समेत फुर्सदिला नबनेका सिर्पाली आवद्ध ग्लोरी फाइन आर्ट समुह म्याग्दीमार्फत जिल्लाका विभिन्न ठाउँमा कोरोना भाइरसबाट बच्ने र फैलिन नदिने उपायका बारेमा सन्देशमुलक चित्र सहितको भित्तेलेखनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनीसँग असोक किसानले समेत सहकार्यमा भित्तेलेखेन सहितको काम गर्ने गरेका छन् । सर्पालीले लाइभ पेन्टिङ समेत गर्छन् । आधादशक यता ब्यवसायीक पेन्टिङमा सक्रिय रहेका सिर्पालीले मेहनत अनुसारको कमाई रहेको बताउँदै यसै पेशालाई थप विस्तार गर्ने बताए । म्याग्दीमा सिर्पाली सहित ललिन्द्र थापा, सुरेन्द्र राना, थापा सुनिल बोहोरा, प्रेम तामाङ, मनोज थापा लगायतका यूवाहरु पेन्टिङमा सक्रिय छन् ।