दरबाङको केबी एकेडेमीले नखुलेको महिनाको मासिक शुल्क नलिने घोषणा

सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएपनि म्याग्दीका कुनै विद्यालयले औपचारिक घोषणा नगरेको अवस्थामा पश्चिम म्याग्दीको एक विद्यालयले विद्यालय खुलेपछिको मात्रै मासिक शुल्क लिने घोषणा गरेको छ ।

मालिका गाउँपालिका–६ दरबाङमा अवस्थित केबी एकेडेमी एण्ड बोर्डिङ स्कुलले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी बन्द भएको पठनपाठन सुचारु भएको महिना र दिनबाट मात्रै मासिक शुल्क लाग्ने जनाएको छ । ‘अभिभावकलाई शुल्क अवस्था नै होईन्,हामीले जति पढाउँछौ, त्यही शुल्क लिन्छौ’ विद्यालयका प्रबन्ध निर्देशक हिरा पुनले बेनीअनलाइनलाई भन्नुभयो ।विद्यालयले शुल्क असुल्ने नियत विगतमा समेत नराखेको बताउँदै अभिभावकलाई कोरोना भाइरस र लामखुट्टेको टोकाईबाट सर्ने डेंगुबाट आफुँ र बालबच्चालाई जोगाउन समेत विभिन्न माध्यमबाट जानकारी गराइएको बताउनुभयो ।

सरकारले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेपनि म्याग्दीमा औपचारिक रुपमा कुनैपनि निजी विद्यालयले घोषणा गरेका छैनन् । सदरमुकाम बेनीमा रहेका ठूला विद्यालयले छुटको सुविधालाई कार्यान्वयन गर्ने अपेक्षामा अभिभावक रहेका छन् । चैत्र महिनामा बार्षिक परीक्षा लगत्तै बन्द भएको विद्यालय खुल्ने अझै निश्चित छैन् ।