म्याग्दीमा हुने गण्डकी प्रदेशस्तरीय भलिबलको ट्रफि सार्वजनिक

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा हुने गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ । आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने प्रतियोगिताका बारेमा बिहिबार जिल्ला खेलकुद विकास समितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिकी कार्यवाहक अध्यक्ष दिलकुमारी खत्रीले ट्रफि सार्वजनिक गर्नुभएको थियो । प्रमुख अतिथि खत्रीले प्रतियोगितामा सहभागि हुन आउने खेलाडी, अफिसियल सहितको टोलीलाई स्वागत तथा खेलअवधिभर कुनैपनि अभाव हुन नदिन अनुरोध गर्नुभएको थियो ।

प्रमुख अतिथि खत्रीले प्रतियोगिताले जिल्लाका भलिबल प्रतिभाको पहिचान तथा खेल पर्यटनमार्फत प्रचारप्रसार हुने बताउनुभयो । सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिशा आचार्यले बर्षातको समयमा हुने खेललाई सफल बनाउन आयोजकको सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द सुबेदी, जिल्ला खेलकुद विकास समिति,जिल्ला भलिबल संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताका बारेमा जिल्ला भलिबल संघका अध्यक्ष एवम् प्रतियोगिता संयोजक तेजेन्द्र बानियाँले प्रकाश पादैं जिल्लामा हुने प्रदेशस्तरीय प्रतियोगिताले खेल पर्यटनमा अतुलनीय योगदान दिने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले जिल्लामा खेलकुदका प्रतिभालाई आवश्यक सुविधा सहित तालिम तथा प्रतियोगितामा सहभागिता गराउने गरी अगाडी बढेको बताउनुभयो । हरेक विधाका खेलमा म्याग्दीलाई सर्वोत्कृष्ट बनाउने र खेलाडीलाई लक्षित गरी बजेट ब्यवस्थापन गर्ने बताउनुभयो । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, नवलपुर गरी ८ जिल्लाको सहभागिता हुने छ । प्रतियोगिताको उद्घाटन उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले असार ८ गते गर्ने आयोजकले जनाएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने छ भने हरेक जिल्लाले तीन जना राष्ट्रि«यस्तरका खेलाडीलाई समावेश गर्न पाउने नियम रहेको छ ।