रघुगंगा गाउँपालिकाको बजेट ५० करोड

म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ । बिहिबार आयोजित गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँको बजेट पारित भएको हो ।

गाउँपालिका उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गरेकी थिइन् ।

संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याएको उपाध्यक्ष पुनको भनाई छ । रघुगंंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निशुल्क, कृषिका साम्रागी खरिदमा ७५ प्रतिशतसम्म अनुदान, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न कार्यक्रमहरुमार्फत स्वरोजगारमुलक गतिविधिलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भबन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमुलक कार्यक्रमहरुका साथै किसानको बर्गिकरण गरी परिचय पत्र वितरण समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।