अन्नपूर्ण गाउँपालिका क्षेत्रमा कालीगण्डकी किनारमा रहेको तातोपानीको मुहानहरु जलविद्युतका कारण विस्थापित हुने तथा सुक्ने भन्दै स्थानीयले चिन्ता गरेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र हुन लागेका जलविद्युतका कारण पानी सुरुङबाट बग्दा नदी किनारमा रहेका तातोपानीका मुहानहरु सुक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन् ।पानी सुकेमा आर्थिक, सामाजिक तथा वातावरणीय हिसाबले पनि प्रभाव पर्ने भएकाले त्यस तर्फ ध्यान दिन स्थानीयले सचेत गराएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको भूरुङ तातोपानीमा आयोजना गरिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी सार्वजनिक सुनुवाइमा सर्वसाधारणले चिन्ता व्यक्त गरेका थिए । हाइड्रो सपोर्ट प्रा.ली.ले निर्माण गर्न लागेको उक्त जलविद्युत निर्माण हुँदा पिउने पानी तथा तातोपानीको मुहानमा कुनै असर नपर्ने गरी मात्रै काम हुनुपर्ने स्थानीयको माग छ ।
तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको सुनाउँदै तातोपानीको मुलको भविष्य नै अन्यौल हुने तर्फ चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामी यही क्षेत्रमा जन्मियौं हुर्कियौं र अब अन्त्य पनि यही हुने हो, यो हुँदै गर्दा हाम्रो हरेक गतिविधि कालीगण्डकीसँग जोडिएको हुनाले पानी सुरुङमा हाल्दा हामी पनि अन्यौलमा हुन्छौं ।’ १० प्रतिशत पानी छाड्ने कुरा ३६५ दिन नै हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो–हाम्रो मृत्यु संस्कार कालीगण्डकी नदी बगेको किनारमा हुदै आएको छ, पानी सुरुङ छिरे हामीलाई पनि सुरुङ भित्रै लगेर जलाउने कुरा त भएन नि ।
अन्नपूर्ण गाउँपालिका २ का वडा अध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत निर्माणको क्रममा विस्फोटक प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारणले पानीको मुहान सुकेकाले गर्दा पानीको मुहानमा असर नपर्ने गरी काम गर्न आग्रह गर्नुभएको थियो । कालीगण्डकी नदी मात्रै नभएर सभ्यता पनि भएको हुनाले यसलाई जोगाउनु पर्ने धारणा राख्नु भएको थियो । कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहने तर्फ उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनुभएका हाइड्रो सपोर्ट प्रा.ली.का चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कुनै पनि मुल्यमा स्थानीयलाई असर नपर्ने गरी काम गर्ने गरी तयारी गरी रहेको सुनाउँदै उहाँले त्यसमा आफ्नो प्रतिबद्धता रहेको धारणा राख्नुभयो ।
सार्वजनिक सुनुवाइको क्रममा जलविद्युत आयोजना निर्माणको क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि नौ करोड ७० लाख २४ हजार विनियोजन गरिने जानकारी गराइएको थियो । निर्माण थालिएको चार वर्षमा सम्पन्न हुने उक्त आयोजनाको १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार सात सय ३० कुल लागत रहेको छ । भूमिगत विद्युतगृह रहने उक्त आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने छन् । एक सय ५१ मिटर ग्रस हेड रहेको उक्त विद्युत आयोजनाको चार हजार तीन सय १९ मिटर लामो सुरुङ रहने छ । अन्नपूर्ण गाउँपालिका ६ को पोखरे बगरभन्दा ठीक पारी अन्नपूर्ण गाउँपालिका २ मा भूमिगत रहने विद्युतगृहबाट अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको सब स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने छ ।