माउण्टमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय साक्षरता

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको बेनी शाखाद्वारा जिल्लाको बेनी नगरपालिका–७, महारानीथानमा सञ्चालित माउण्ट एभरेष्ट आवसीय माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

माउन्ट एभरेष्ट आवासीय माविको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ । कार्यक्रममा बैंकको बेनी शाखा प्रमुख उपेन्द्र गौतम, शाखा सञ्चालन प्रमुख निर्मला आचार्य र कर्जा विभाग प्रमुख धुर्व भट्टराईले संयुक्त रूपमा बैंकमा खाता खोल्ने प्रक्रिया, बचत गर्नुका फाइदा, बैंकको सेवा, सुविधाबारे सहजीकरण गर्नुभएको थियो ।

यसैगरी कार्यक्रममा विद्यार्थीहरुलाई मोबाइल बैङ्किङ तथा डिजिटल कारोबार, बैंक तथा खाताका प्रकार, व्यालेन्स ट्रान्सफर, एटिमएको प्रयोग, शेयर बजार तथा शेयर मार्केट तथा डिजिटल कारोबार गर्दा ध्यान दिनुपर्ने विषय, सुरक्षालगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको कर्जा विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । शाखा प्रमुख गौतमले विद्यार्थीहरूलाई स्कुलको पढाइसँगै बैङ्किङ सम्बन्धी विषयमा आधारभूत ज्ञान प्रदान गरी भविष्यमा उनीहरूले लिने वित्तीय निर्णयहरूलाई सहज र प्रभावकारी बनाउन सहयोग पु¥याउने उद्देश्यले साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा माउण्ट एभरेष्ट आवासीय माविका प्रिन्सिपल राजु केसी र भाइस प्रिन्सिपल धुर्वसागर शर्माको विशेष उपस्थिति रहेको थियो भने ५५ जना भन्दाबढी विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए । आगामी दिनमा पनि बैंकले वित्तीय साक्षरतालाई निरन्तरता दिने जनाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको हाल देशभर ७४ जिल्लामा सञ्चालित २ सय ७५ वटा शाखा र ६५ एक्सटेन्सन काउन्टरमार्फत सेवाग्राहीहरुलाई वित्तीय सेवा प्रदान गरिएको छ ।