म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रमसहित खानेपानी विस्तार भएको छ ।
लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एउटा विद्यालय र दुई वटा सामुदायिक भवनमा खानेपानीको पहुँच विस्तार गरिएको हो ।
लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर रञ्तिजाले बताउनुभयो ।
घरघरमा निर्माण भएका धारामा पानी आउन थालेको र पूर्वाधारसहित सुरक्षित खानेपानीलाई ध्यान दिइएको उहाँले बताउनुभयो ।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक तथा प्राविधिक सहयोग र समुदायको श्रमदानबाट लेकगाउँमा खानेपानी आयोजना निर्माण भएको हो ।
खानेपानी आयोजनाका लागि ट्रष्टको ५० लाख ५४ हजार र स्थानीयवासीको १० लाख ९२ हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल ६१ लाख ४७ हजार रुपैयाँ लगानी भएको छ ।
आयोजना निर्माण शुरू भएको दुई महिनामै सम्पन्न भई धाराबाट पानी आउन थालेपछि उपभोक्ता उत्साहित भएका छन् ।