विद्युत् सेवा सुधारका लागि राज्यमन्त्री गर्बुजाको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको ध्यानाकर्षण

उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको ध्यानाकर्षण गराएका छन् । सोमबार राज्यमन्त्री गर्बुजाको कार्यकक्षमा भएको भेटमा कार्यकारी निर्देशक शाक्यलाई म्याग्दीमा विद्युत आपुर्ति नियमित गराउन निर्देशन दिनुभयो । म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले गृहजिल्ला म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन र जलद्यिुत आयोजनालाई समयमै सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीमा नयाँ ईन्सुलेटेड तार र ट्रान्सफरमर थप जडान गरी विद्युत आपुर्ती भरपर्दो र नियमित गराउन , जिल्लाको भौगोलिक रुपमा सबैभन्दा दुर्गम गुर्जा लगायतका ग्रामिण बस्तीमा केन्द्रिय प्रसारण लाइन पु¥याउनका लागि प्रक्रिया थाल्न समेत निर्देशन दिनुभयो ।

साथै म्याग्दीका स्थानीय तह सँगको सहकार्यमा जिल्ला सदरमुकाम बेनी सहितका बजारमा सडक बत्ती जडान गर्नका लागि समन्वय गरी प्रक्रिया थाल्न आग्रह गर्नुहुँदै राज्यमन्त्री गर्बुजाले आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राज्यमन्त्री गर्बुजाका निजि सचिव विनोद शर्माका अनुसार ,छलफलमा कार्यकारी निर्देशक शाक्यलाई राज्यमन्त्री गर्बुजाले विद्युत क्षेत्रमा जिल्लामा देखिएका अन्य समस्यालाई समाधान गर्नका लागि आवश्यक कार्य गर्न सचेत गराउनुभयो ।

भेटमा कार्यकारी निर्देशक शाक्यले निर्माणाधिन प्रसारण लाइन र सवस्टेशन तथा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको कार्यप्रगतिबारे जानकारी गराउनुभएको थियो । म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७, डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३, अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ ।