अन्नपूर्णमा सार्वजनिक सुनुवाइ : ११ महिनामा पुँजीगत खर्च २० प्रतिशत

 ‘समृद्ध अन्नपूर्ण निर्माणको आधार : दीगो, कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा आइतबार पोखरेबगरमा चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा सार्वजनिक सुनुवाइ गरिएको हो ।

चालु आवमा कुल ५४ करोड ८४ लाख ४३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा जेठ महिनासम्म २६ करोड २४ लाख ६४ हजार तीनसय ४७ रुपैयाँ ६७ पैसा अर्थात् ४७ दशमलव ८५ प्रतिशत बजेट खर्च भएको अन्नपूर्ण गाउँपालिकाकाले जनाएको छ । चालु आवमा विनियोजितमध्ये २८ करोड ५९ लाख ७८ हजार छ सय ५२ रुपैयाँ ३३ पैसा मौज्दात रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले चालु आवमा गाउँपालिकामार्फत सम्पादित योजना, कार्यक्रम र बजेटका बारेमा जानकारी गराउँदै वार्षिक बजेटको चालुतर्फ ३४ करोड ९२ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २२ करोड २२ लाख ८९ हजार दुईसय ५० रुपैयाँ २२ पैसा अर्थात् ६३ दशमलव ६४ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालुतर्फ अब १२ करोड ७० लाख सातसय ४९ रुपैयाँ ७८ पैसा खर्च हुन बाँकी रहेको छ ।

यसैगरी पुँजीगततर्फ कुल १९ करोड ९१ लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म चार करोड एकलाख ७५ हजार ९७ रुपैयाँ ४५ पैसा अर्थात् २० दशमलव १७ प्रतिशत मात्रै बजेट खर्च भई १५ करोड ८९ लाख ७७ हजार नौसय दुई रुपैयाँ ५५ पैसा खर्च हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत कँडेलले बताउनुभयो । उहाँले आन्तरिक स्रोत अनुमानभन्दा बढी सङ्कलन गरिसकिएको छ भने केही योजनाहरुमा काम गर्न बाँकी रहेको र ठूला योजनाहरुको भुक्तानी बाँकी रहेकाले पूँजीगत खर्च कम देखिएको बताउनुभयो । चालु आवमा अन्नपूर्णमा जम्मा १ सय ४० वटा योजनाहरु रहेकोमा उपभोक्ता समितिबाट १ सय १० वटा र ठेक्कामार्फत १९ वटा योजनाहरुको काम भएकोमा ११ वटा योजनाको सम्झौता भएको छैन ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा हुकुम पुन, अनिश गर्बुजा, गोपाल बरुवाल, कृष्णप्रसाद बरुवाल, पूर्णबहादुर गर्बुजा, नरिमाया पूर्जा पुन, शिवबहादुर खड्काले जिज्ञासा र प्रश्नहरु सोध्नुभएको थियो । सहभागीहरुले विद्यालयमा कार्यरत लेखा सहायक शिक्षकहरुको सेवासुविधा बढाउनुपर्ने, बाँझो जमिनलाई प्रयोगमा ल्याउनुपर्ने, नारच्याङमा हेलिकप्टर उडानको अनुमति दिनुपर्ने, गाउँपालिकामा जग्गाको बारेमा निवेदन दिँदा पनि सुनुवाइ नभएको, अन्नपूर्ण हीरक महोत्सवको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, जलविद्युत आयोजनामा स्थानीयले शेयर हाल्न पाउनुपर्ने, विरेठाँटी–मुक्तिनाथ केबुलकारको स्टेशन नारच्याङ र घोरेपानीमा बनाउनुपर्ने, कर घटाउनुपर्ने, किसानलाई गोरु पाल्न प्रोत्साहन गर्नुपर्ने, बिजुली नियमित गराउनुपर्ने, स्थानीय बजार अनुगमनमा जोड दिनुपर्ने जस्ता मागहरु गरेका थिए ।

सहभागीहरुले राखेको जिज्ञासा तथा प्रश्नको उत्तर दिँदै गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले खेतीयोग्य तर बाँझो जमिनमा कृषि, फलफुल, जडिबुटी र तरकारी खेतीका लागि कृषक समूहलाई प्रोत्साहन गरिने बताउनुभयो । उहाँले जलविद्युत आयोजना निर्माणको क्रममा पानी सुकाउन नपाइने र स्थानीयलाई आयोजनामा शेयर हाल्ने वातावरण निर्माणका लागि गाउँपालिकामार्फत पहल गरिने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कँडेलले एक करोडसम्मका योजनाहरु उपभोक्ता समिति र त्यसभन्दा माथिका योजनाहरु ठेक्का प्रक्रियामा जाने सार्वजनिक खरिद सम्बन्धी नियम रहेकाले उपभोक्ता समितिले निर्माण गर्ने योजनाहरुमा स्थानीयले अपनत्व लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, वडा अध्यक्षहरु रमेश पूर्जा, लोकबहादुर फगामी, रामबहादुर खड्का, मईलन पूर्जा पुन र पर्यटन अभियन्ता चित्र तिलिजाले जवाफ दिनुभएको थियो । गाउँपालिकाको प्रशासकीय अधिकृत भगवती खड्का कटुवालको सञ्चालनमा सम्पन्न कार्यक्रमको नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र म्याग्दी शाखाका सहसचिव प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।