गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” म्याग्दी जिल्लाको बेनीबजार (खुल्ला मञ्च)मा आगामी असार ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ ।
सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बाँनियाले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बाँनियाले बताए ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा हुने प्रतियोगितामा बिजेता टिमले नगद रु २ लाख, उपविजेताले नगद रु १ लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु ५–५ हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु ३–३ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हरेक टिममा १२ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक (कुल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च समेत आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल संघका महासचिब कुमार किशानले जानकारी दिए ।
यो प्रतियोगिता गण्डकी प्रदेशको भलिबल विकासमा एक महत्वपूर्ण कदम हुने विश्वास गरिएको अध्यक्ष बाँनियाले जनाएका छन् । उनले भने–हामी निश्चित उद्धेश्यका साथ यो प्रतियोगिताको आयोजना गर्दैछौं । सबैको सहकार्यका लागि म आह्वान गर्न चाहन्छु ।” उनले म्याग्दी जिल्ला गण्डकी प्रदेशमा भलिबल खेलको उद्गम थलो भएका कारणले पनि यो प्रतियोगिताको अझै महत्व रहेको उल्लेख गरे ।
प्रतियोगिताको उद्घाटन असार ७ गते संघिय सरकारका उर्जा, जलस्रोत तथा सिंचाई राज्य मन्त्री खम बहादुर गर्वुजाले गर्ने तय भएको महासचिव किशानले जानकारी दिएका छन् ।