म्याग्दीको मालिका गाउँपालिका वडा नं ५ मगरदाङ स्थित मकैबारीमा उम्रिएको गाँजाको बोटबिरुवा प्रहरीले नष्ट गरेको छ । स्थानीय भाषामा भाँगो भनिने बोटको पात हातमा लगाएर गाँजा निकाली सेवन गर्ने र कारोबार हुने गरेको भन्दै इलाका प्रहरी कार्यालय दरबाङबाट गएको टोलीले समुदायकै सहयोगमा धमाधम गाँजा फडानीलाई तिब्रता दिएको छ ।
सार्वजनिक र ब्यक्तिगत जग्गामा उुम्रिएको गाँजालाई खोज र नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले मगरदाङमा करिब ४ रोपनी जग्गामा फैलिएको गाँजा फडानी गरेको हो । प्रतिबन्धित लागुऔषधको सूचीमा राखेको गाँजा वैधानिक बनाउनुपर्ने बहस भइरहेको अवस्थामा प्रहरीले सार्वजनिक स्थान, ब्यक्तिको घरदैलोमा रहेका गाँजा समेत खोजीखोजी नष्ट गर्ने अभियान नै सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले स्थानीय जनप्रतिनिधिसहित उपस्थितीमा गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको जनाएको छ । गाँजाका सेवनकर्ता सहरबजारदेखि ग्रामिण क्षेत्रमा समेत बढ्न थालेपछि अभियानलाई तिब्रता दिइएको प्रहरी नायव उपरीक्षक सुर्य थापाले बताउनुभयो।‘गाँजा सेवनकर्ताहरु नै लागु औषधको प्रयोगकर्ता भइरहेका छन्,यो अभियानमा समुदायको पूर्णरुपमा साथ भएकाले प्रभावकारी देखिएको छ’ प्रनाउ थापाले भन्नुभयो ।
समुदायस्तरमा रहेका विभिन्न संघसंस्थाले समेत गाँजाको बोट फैलिएको स्थान देखेपछि प्रहरीलाई जानकारी दिने समेत प्रनाउ थापाले अनुरोध गर्नुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरू भएको अभियानमा म्याग्दीका सबै स्थानीय तहमा ठूलो परिमाणमा गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

यता स्थानीयलेघरआगन, खेतबारीमा लगाइएको गाँजा(लेकाली भाँगो) फडानी गरेपछि सर्वसाधारणले भाँगोलाई समेत गाँजा खेती भन्दै प्रचार गरेकोमा असन्तुष्टी जनाउने गरेका छन् । ‘हामीले गाँजा खेती गरेका छैनौ, यो बषौंदेखि घरमा प्रयोग हुने भाँगो हो,’बाहिर पनि बिक्री गर्दनौ’ एक स्थानीयले भन्नुभयो । गाउँघरमा पेट दुख्दा ‘गाँजा चपाएर खा’ गाउँघरमा यो भन्ने बुढापाका गाउँ–घरमा अझै पनि भेटिन्छन् । गाँजालाई औषधीको रुपमा प्रयोग गर्ने, गाँजाको दानाको अचार खाने चलन छ ।

गाँजा या भाँगो जे भनिए पनि अवैध लागूऔषध बनाउन प्रयोग गरिएकाले कानूनविपरीत भएको प्रहरीको दाबी छ । भाँगोकै फल र बोटबाट निस्कने चोप र अन्य पदार्थबाट गाँजा, चरेसजस्ता लागूऔषध बनाउने गरिएको प्रहरीको भनाइ छ ।म्याग्दीमा ब्यवसायीक भन्दा पनि प्राकृतिक रुपमा उम्रिएको गाँजा ब्यवस्थापनमा चुनौती रहेको छ ।