पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप शुक्रबार दिउँसो बतासेडाँडामा दुर्घटना हुँदा २ जना मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा ढोरपाटन नगरपालिका वडा नं. २ बस्ने ७० वर्षिय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षिय भीम कुमारी बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए । कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी १४ जना घाइते भएका छन् । गंभीर घाइते हुनेहरुमा जीप चालक ढोरपाटन नगरपालिका वडा नं. २ का २७ वर्षिय गोविन्द थापा, सोही ठाउँकी १८ वर्षिय लुम्बिनी महत र २३ वर्षिय इन्द्र कुँवर रहेका छन् । चालक थापाको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने महत र कुँवरको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
यस्तै दुर्घटनाका अन्य घाइतेहरुमा ढोरपाटन २ कै वर्ष २९ की निरमाया खत्री, ३८ वर्षिय देवी परियार, ५३ वर्षिय दुर्गी दर्जी, १२ वर्षिय अन्जु परियार, ८ वर्षिय वियानो बुढा, ५ वर्षिय विनय बुढा, ७५ वर्षिय मन कुमारी थापा, २१ वर्षिय टिका कुमारी कुँवर, ढोरपाटन नगरपालिका वडा नं. ५ की ३५ वर्षिय डल्ली विक, ढोरपाटन १ का ११ वर्षिय शिशिर कार्की र ढोरपाटन ५ की ३० वर्षिय टनमाया कुँवर रहेका छन् ।
उहाँहरुको हात खुट्टा, ढाड, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेमध्ये आठ जनालाई बुर्तिवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखराको मणिपाल र पाँच जनालाई मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रनाउ पाण्डले जानकारी दिए । घाइते एक जनाको बुर्तिवाङ अस्पतालमा उपचार भईरहेको छ ।
जिप सडकदेखी अन्दाजी ६० मिटर तल खेतमा खसेको थियो । जीप दुर्घटनाको खबरलगत्तै इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको नेतृत्वमा १५ जनाको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा घटनास्थलमा घाइतेहरुको उद्वार गरेको थियो ।