निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना दोस्रोपटक थपिएको समयसीमाभित्र पनि पूरा भएको छैन । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित २०१७ नोभेम्बर १७ मा छ अर्बमा ठेक्का सम्झौता गरेको थियो ।
सन् २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद यही जुन २७ मा सकिँदैछ । अहिलेसम्म ७९ दशमलव ५० प्रतिशत भौतिक र ७५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले सन् २०२५ डिसेम्बर ३१ सम्म म्याद थपको प्रस्ताव गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले ठेकेदारले गरेको म्याद थप प्रस्तावका विषयमा परामर्शदाता कम्पनी ‘वाकफोस’ले अध्ययन गरिरहेको बताउनुभयो ।
२०७६ सालको कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि विद्युतगृहका उपकरण आयात र जडानको काम लक्ष्यअनुसार गर्न सकेको छैन ।
कोरोना महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावलाई कम्पनीले आयोजना निर्माणमा ढिलाइ हुनुको कारण देखाएका छन् । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ ।