म्याग्दीको मालिका गाउँपालिका-६,उपल्लो बजार दरबाङमा शुक्रबारदेखि साहसिक खेल स्केट हाउस सञ्चालनमा आएको छ । बेनी नगरपालिका-२,हाँडेभिरमा रहेको डि लाईट स्केट हाउसले तेस्रो शाखा दरबाङमा विस्तार गरिएको हो ।
स्केट हाउसको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गदैं सहासिक खेललाई मापदण्डको प्रयोग गरी सावधानी अपनाएर खेल्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि गर्बुजाले यूवाहरु बैदेशिक रोजगारीमा आर्कषित भइरहेको अवस्थामा स्थानीयस्तरमै विभिन्न ब्यवसायबाट समेत आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।
सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोकाले पछिल्लो समय लोकप्रिय रहेको स्केट खेलमार्फत दरबाङमा समेत खेल पर्यटन प्रर्बधन गर्न सकिने बताउनुभयो । कार्यक्रममा पुर्व वडा अध्यक्ष एवं जनप्रिय माविका अध्यक्ष सन्तनाथ सुवेदी, जनप्रिय टोल विकास समितिका अध्यक्ष हिरा बहादुर पुन, म्याग्दी होटल तथा रेष्टुरेन्ट संघका उपाध्यक्ष अमृत सापकोटा, दरबाङ बजारका विभिन्न टोल समितिका अध्यक्ष तथा खेलप्रेमीको उपस्थिती रहेको थियो।
डि लाईट स्केट हाउसका स्थापक तथा सञ्चालक जीवन श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, सनम जिसी र युवराज श्रेष्ठले करिब ४५ लाखको लगानीमा सञ्चालन गर्नुभएको छ । स्केट खेलका लागि मालिका गाउँपालिकाको दरबाङ बजार आसपासका क्षेत्रका साथै छिमेकी मंगला गाउँपालिकाबाट समेत विद्यार्थी, किशोरकिशोरी आउने सञ्चालन जिसीको भनाई छ ।
स्केट हाउसले ओपनिङको अवसरमा टिकटको मूल्य एक घण्टाका लागि रु १५०, आधा घण्टाका लागि रु १०० कायम गरिएको छ । स्केट हाउसको उद्घाटन कार्यक्रमको अध्यक्षता सनम जिसी, स्वागत देबेन्द्र श्रेष्ठ र सञ्चालन पत्रकार शिब बोहोराले गर्नुभएको थियो ।
पछिल्लो समय विद्यालय उमेर समुहका बालबालिकामा निकै लोकप्रिय मानिएको स्केटमार्फत विद्यार्थीलाई इलेक्टोनिक्स डिभाइसको लत घटाउन समेत सघाउने छ भने साहसिक खेलमा यूवापुस्ताको आर्कषण बढ्ने छ ।ग्राहकलाई ध्यानमा राख्दै आगामी दिनमा प्याकेजको कार्यक्रम ल्याउने तयारी रहेको सञ्चालक जिवन श्रेष्ठले बताउनुभयो ।
प्रशिक्षकको व्यवस्था गरिएको बालबालिकालाई अभिभावकको समेत निगरानीमा खेल्न मिल्ने सुविधा रहेको छ । स्केटिङ्ग हाउसमा एक पटकमा ७० जनाले खेल्न सकिन्छ । डि लाईट स्केट हाउसले सदरमुकाम बेनीको हाँडेभिरमा जिल्लामै पहिलोपटक स्केट हाउस सञ्चालन गरेको थियो भने यसको बागलुङको बुर्तिबाङमा समेत शाखा रहेको छ ।