ट्राफिक सप्ताहको अवसरमा बेनीमा रक्तदान, २९ पिन्ट रगत संकलन

म्याग्दीमा ट्राफिक सप्ताह अन्तगत शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको आयोजनामा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाईटी म्याग्दीका अध्यक्ष अमर बानियाँले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि बानियाँले म्याग्दीमा रगतको अभावकै कारण कसैले ज्यान गुमाउन नपरेको र यहाँ संकलन भएको रगतलाई बाहिरी जिल्लामा समेत पठाउने गरेको बताउनुभयो । रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेकाले आगामी दिनमा पनि सामाजिक गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा सभापति बानियाँको जोड थियो ।

म्याग्दीमा आपतकालिन र प्रकोपमा परेका व्यक्तिहरु, रक्तस्रावसँग सम्बन्धित रोग वा समस्या भएका,शल्यप्रक्रियामा रहेका बिरामीहरू,गम्भीर रक्तअल्पता भएका गर्भवती महिलाहरू लगायत उपचारमा रगतको आवश्यकता पर्दा तत्कालै रक्तदान गर्नेहरुको संख्या समेत धेरै छन् ।

ट्राफिक प्रहरीले आयोजना गरेको रक्तदानमा २९ पिन्ट रगत संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीका प्रमुख राजकुमार थापाले बताउनुभयो । ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक ज्ञानको अभिबृद्धि गर्नुका साथै उनीहरूको स्वास्थ्य परिक्षण तथा सचेतनामूलक कार्यक्रमहरु भइरहेको छ । ट्र«ाफिक सप्ताह शनिबार समापन हुनेछ ।