दिपा बुढाथोकी
जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सवारी चालक तथा सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण गरीएको छ । ट्राफिक सप्ताहको अवसरमा बेनी कालीपुल बसपार्क क्षेत्रमा आयोजना गरीएको स्वास्थ्य परीक्षणमा डेढ सय सवारी चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो ।
स्वास्थ्य परीक्षणमा औषधि सेवन गर्नुपर्ने ५ जना, र जोखिममा रहेका २० जना मधुमेहका र ५० चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला ट्र«ाफिक कार्यालयका प्रमुख राजकुमार केसीले बताउनुभयो । ‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मुल नाराका साथ आयोजित सप्ताहको अवसरमा चालकको स्वास्थ्य गडबडी भएमा दुर्घटना हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको प्रमुख केसीको भनाई छ ।
स्वास्थ्य शिविरको उद्घाटन गदैं कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष एवम् बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले अधिकांश दुर्घटना सवारीसाधन र चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकको स्वास्थ्य अवस्थालाई अन्य समयमा समेत सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो ।
‘चालकको सामान्य त्रुटिबाट पनि ठूलो जनधनको क्षति हुनसक्छ, यो अभियान सप्ताहमा मात्रै सिमित गर्नुहुदैन’ वडा अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने अभियान राम्रो भएको सवारी चालकको भनाई छ । स्वास्थ्य शिविरमा समस्या भएका चालक, सहचालकलाई थप परार्मशका लागि बेनी अस्पतालमा रिफर गरिएको छ । सुगर परीक्षणका लागि विश्वस मेडिकल हल र नेशनल ड्रग सेन्टरले सुगर किट उपलब्ध गराएको थियो ।