म्याग्दीका साहित्यकार सम्मान तथा कृति विमोचन

मुखिया जेमदग्नि पौडेल स्मृति सेवा केन्द्र बेनी नगरपालिका-५ मुलघरे पौडेल परिवारद्धारा कृति विमोचन एवं स्रष्टालाई सम्मान गरेको गरेको छ । बेनपा-४ सिंगामा आयोजित अक्षय कोष स्थापना,कृति विमोचन, सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँ, प्रा.डा. हेमराज सुबेदी, गायक तथा साहित्यकार संरक्षक यादबप्रसाद शर्मा पौडेल, विश्व हिन्दु महासंघ म्याग्दीका निर्वतमन अध्यक्ष कृष्णप्रसाद शर्माले कृतिको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

सोही अवसरमा साहित्यकार एवम् लेखक चन्द्रप्रकाश बानियाँलाई ३१ हजार १११ रुपैयाँ, साहित्यकार नरबहादुर बिसी, डा.हेमराज सुबेदीलाई जनही २५ हजार १२५ रुपैयाँ, सम्मानपत्रले स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेल,अध्यक्ष रामप्रसाद पौडेलले सम्मान गर्नुभएको थियो । सोही अवसरमा साहित्यकार अजयमिलन श्रेष्ठले कृतिको चर्चापरिचर्चा गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष अणबहादुर खड्का, मोहनबहादुर स्मृति साहित्य प्रतिष्ठानका अध्यक्ष केदारनाथ पौडेल, साहित्यकार धु्रबलाल शर्मा, रेखाकौशल रेग्मी, धौलागिरी माविका शिक्षक डण्डपानी सापकोटा,गणनाथ पौडेल, दिननाथ पौडेल, नारायणप्रसाद भट्टराई, म्याग्दी पुलाचौर समाज काठमाण्डौका अध्यक्ष डम्मरबहादुर केसीलगायतले बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा स्मृति सेवा केन्द्रले ११ लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरेको छ ।

धौलागिरी मावि सिंगा,जनकल्याण मावि पुलाचौरलाई शैक्षिक तथा खेलकुद साम्रागी वितरण, जेष्ठ नागरिक दधिलाल पौडेल र कमलकुमारी भट्टचनलाई कदरपत्र र दोसल्लाले सम्मान गरिएको थियो । स्मृति सेवा केन्द्रका संरक्षक यादबप्रसाद शर्मा पौडेलको अध्यक्षता,सचिव देवीप्रसाद पौडेल स्वागत, अध्यक्ष रामप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि गरी २ सय जनाको सहभागिता रहेको थियो ।