अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ।
तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।
पार्टी नेतृत्वको निर्देशनमा आधारित उक्त लिस्टविरुद्ध अनेरास्ववियुका प्रतिनिधि र जेन जी पुस्ताले खुला विद्रोह शुरू गरेका छन्।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पार्टी नेतृत्वको दबाब र निर्देशनले विद्यार्थी संगठनको स्वायत्तता र आन्दोलनको मर्ममाथि आघात पुगेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
विशेषगरी, अनेरास्ववियुमा भएका पदाधिकारीहरूले प्रकाश पौडेलले उमेरहदको मुद्दा उठाएकैकारण आफुहरू अनेरास्ववियुबाट विदाहुनुपरेको भन्दै प्रकाश पौडेल बिरूद्द घेराबन्दी गरेका छन् ।
जेन जी पुस्ताका विद्यार्थी कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूले आन्दोलनबाट नेतृत्व निर्माण हुनुपर्नेमा पार्टीको हस्तक्षेपले अनेरास्ववियुको साखमाथि नै प्रश्न उठेको बताएका छन्।
“हामीलाई नेतृत्व आन्दोलन र सङ्घर्षबाट चुन्ने अधिकार छ, पार्टीको निर्देशनबाट होइन,” एक प्रतिनिधिले भने।
उनीहरूले सरकारी लिस्टको बहिष्कार गर्दै स्वतन्त्र र सक्षम नेतृत्व चयनको माग राखेका छन्। पार्टी नेतृत्वले डा. कडरियाको टिमलाई आधिकारिक उम्मेदवारका रूपमा अगाडि सारे पनि प्रतिनिधिहरूले यो कदमले विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने र दुर्घटनातर्फ लैजाने चेतावनी दिएका छन्।
“हामीले सङ्घर्षबाट बनाएको संगठनलाई पार्टीको स्वार्थको साधन बनाउन दिँदैनौं,” जेन जी पुस्ताका एक कार्यकर्ताले भने।
यो विद्रोहले अनेरास्ववियुको आन्तरिक लोकतन्त्र र स्वायत्तताको मुद्दालाई थप पेचिलो बनाएको छ। मतदान प्रक्रिया अगाडि बढ्दै गर्दा सरकारी लिस्टविरुद्धको यो अभियानले महाधिवेशनको परिणामलाई कसरी प्रभावित गर्छ, त्यो चासोको विषय बनेको छ। news24nepal.tv