नेपालको चुनौतिपुर्ण विद्युत ब्यापारको अवसर

इ. बिनोद शर्मा
नेपालमा उर्जा आपूर्तिको अवस्थाः
नेपालमा सन् २०२३ मा झण्डै १८ अर्ब युनिट बराबरको भएकोऊर्जा खपतमा झण्डै ६४% ऊर्जा खपत परम्परागत इन्धनः काठको दाउरा, पशुको गोबर र कृषि अवशेषहरूको नै भएको देखिन्छ । त्यस्तै व्यावसायिक जीवाश्म ईन्धन करिब २६% खपत हुदा विद्युत भने जम्मा ७% खपत भएको देखिन्छ । नवीकरणीय ऊर्जाः सौर्य, वायु, लघुजलबिधुत, जैविक ग्यास लगायत कुल खपतको झण्डै ३%मा पुगेको छ ।

नेपालको ऊर्जा आपूर्ति को मिश्रण अरु देशको तुलनामा पृथक देखिन्छ । हाम्रो जीवाश्म ईन्धनको खपत घटाउनु त छदैँछ त्यो भन्दा पनि हामीकहाँ परम्परागत ऊर्जा खपतलाई आधुनिक नवीकरणीय ऊर्जाले प्रतिस्थापन गर्ने मुख्य चुनौती रहेको छ । करीब करीब शतप्रतिशत विद्युत नवीकरणीय ऊर्जाबाट उत्पादन गर्ने नेपालले अझै पनि आवासीय, उद्योग तथा यातायात क्षेत्रमा ठूलो मात्रामा जीवाश्म ईन्धन प्रयोग गरिरहेको छ । देशको कुल ऊर्जा खपतमा करिब ६१% आवासीय प्रयोजनमा खपत हुने हुँदा हाम्रो ऊर्जा रूपान्तरण हाम्रो जीवनशैलीमा प्रत्यक्ष निर्भर रहिरहेको छ ।त्यसैले पनि हाम्रो ऊर्जा रूपान्तरण थप चुनौतीपूर्ण बनिरहेको छ ।

नेपालको उर्जा निर्यात सम्भावना
नेपालले सन् २०२३ मा कुल आयात करिब १६१२ अरब नेपाली रुपैँया मध्ये ३४५ अरबको ऊर्जा तथा ऊर्जा स्रोत भारतबाट आयात गरेको देखिन्छ । जुन कुल आयातको २१।४% हो । ऊर्जा आयातमा सबैभन्दा बढी ३०७ अर्ब बराबरको पेट्रोलियम आयात भएको देखिन्छ जुन कूल ऊर्जा आयातको ८९% हो । विगतका वर्षहरूमा कम आयात हुने कोइला सन् २०२१ को तुलनामा झण्डै ४ गुणाले बढि करिब २१ अरब पुगेको देखिन्छ । नेपालले १६।८ अर्बको विद्युत आयात र इतिहासमै पहिलो पटक करिब १६।९ अर्ब को विद्युत भारत निर्यात पनि गरेको थियो । यसरी सन् २०२३ मा नेपालको कुल व्यापारको झन्डै २०।४५% व्यापार ऊर्जाको रहेको देखिन्छ ।

क) जलविद्युतको राम्रो सम्भाव्यता
नेपालको जलस्रोतका आधारमा नेपालमा करिब ४३,००० मेगावाट जलबिद्युतको सम्भाव्यतो रहेको भनिन्छ । एक अनुसन्धान पत्रको आधारमा उच्च आर्थिक वृद्धि कायम रहने तथा विभिन्न क्षेत्रमा विद्युतको व्यापक प्रयोग हुदैजाने उच्च वृद्धिको परिदृश्य अनुसार पनि सन् २०५० सम्ममा नेपालको कुल ऊर्जा माग ८४७ पेटा जुल (करिब २८,६०० मेगावाट बराबर) मात्रै पुग्ने देखिन्छ । तसर्थ आर्थिक तथा प्राविधिक रुपमा सम्भव जलविद्युत आयोजनाहरु निर्माण गर्न सकेमा ठुलो मात्रमा अन्तर्राष्ट्रिय ऊर्जा निर्यात व्यापार सम्भव देखिन्छ ।
ख) समिपमा ऊर्जाको ठूलो अतृप्त माग
बिश्वकै सबैभन्दा बढी जनसंख्या भएका देश चीन र भारतमा उर्जा मागको वृद्धिदर तुलनात्मक रूपमा बढि देखिन्छ । यी देशहरुमा अमेरिका र युरोप भन्दा नवीकरणीय ऊर्जा, आणविक उर्जा र प्राकृतिक ग्यासबाट उत्पादित विद्युत कम छ ।आफ्नो अधिकांश विद्युत माग कोइला बाट परिपूर्ति गरिरहेका विश्वकै ठूला देश हाम्रा छिमेकमा रहेकोले नवीकरणीय ऊर्जा व्यापारका लागि एउटा राम्रो सम्भावना देखिन्छ । विश्वको ऊर्जा रूपान्तरणको लक्ष्य प्राप्तिकै सूचकहरुमा ठुलो प्रभाव पारिरहेका चीन र भारतको ऊर्जा रूपान्तरण सहज छैन । तसर्थ नेपालका लागि नवीकरण ऊर्जा निर्यातको व्यापार दिगो बन्न सक्ने सम्भावना देखिन्छ ।
ग)सीमित ऊर्जा बजार
देशको उर्जा खपतमा देशको अर्थतन्त्र, प्रतिव्यक्ति आय, विद्युत विस्तार, आधुनिक जीवनशैलीको ग्राह्यता, व्यापारिक तथा औद्योगिक क्षेत्रको बिस्तार, यातायात तथा कृषिको विद्युतीकरणले मुख्य प्रभाव पारिरहेका हुन्छन । नेपाल हाल प्रतिव्यक्ति ऊर्जा खपतका आधारमा एक न्यून ऊर्जा खपत गर्ने देशमा पर्दछ ।वास्तवमा राजनीतिक अस्थायित्व, पर्याप्त लगानी पुँजीको अभाव, युवा तथा दक्ष जनशक्तिको वहिर्गमन जस्ता विविध विषयले देशमा उद्योगधन्दा, व्यवसाय चलायमान हुन नसक्दा विद्युतको माग अपेक्षाकृत रूपमा बढ्न सकिरहेको छैन । अझ सन् २०२२ को तुलनामा सन् २०२३ मा कुल ऊर्जा खपत झण्डै १७%ले घटेको देखिन्छ ।
घ)नविकरणीय ऊर्जा बाध्यात्मक
वायुमण्डलमा हरितगृह ग्यासको उत्सर्जन सीमित गर्न तथा जलवायु परिवर्तन सम्बन्धी लक्ष्यहरूको प्राप्ति नवीकरणीय उर्जाको प्रयोगबाट मात्रै संभव भएको महसुस गरी अन्तर्राष्ट्रिय नीति नियमहरू बाध्यात्मक बनिरहेका छन्। वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनलाई सीमित गर्न तथा जलवायु परिवर्तन नियन्त्रण गर्न विश्वले राखेका लक्ष्यहरूको प्राप्तिको कार्यसम्पादन निरन्तर अपेक्षित नभएपछि नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय निकायहरु थप कठोर बन्न सक्नेछन् ।
उर्जा निर्यातमा चुनौतिहरुः
क) कमजोर अर्थतन्त्र
ऊर्जा क्षेत्र एक ठूलो लगानी चाहिने र प्रतिफल बिस्तारै आउने क्षेत्र हो । एउटा प्रतिवेदनका अनुसार प्रति मेगावाट जलविद्युत उत्पादनका लागि करिब २२ करोड नेपाली रुपैयाँ लाग्ने देखिन्छ । जलाशययुक्त आयोजनामा यो रकम अझ बढी हुने गर्दछ । त्यसकारण कमजोर अर्थतन्त्र भएको नेपालका लागि पर्याप्त लगानी जुटाउनु नै ऊर्जा उत्पादनको प्रमुख चुनौती रहेको छ ।
ख) जलवायु परिवर्तनको प्रभाव
जलवायु परिवर्तनको असर उर्जाका स्रोतहरु मध्ये सबैभन्दा बढी जलविद्युतमा पर्ने देखिन्छ । जलवायु परिवर्तनले अनावृष्टि, अतिवृष्टि तथा बेमौसमी झरी गराई हाइड्रो पावरको उत्पादन तथा नदि किनारमा हुने भौतिक संरचनामा ठूलो असर पर्ने देखिन्छ । विशेषगरीप्रमुख नदीहरु हिमालबाट नै आउने हाम्रो देशमाउच्च तापक्रम वृद्धिले हिमालमा हिउँको मात्रा घट्दै गई नदीमा जल प्रवाह क्रमश कम हुने देखिन्छ। एउटा अध्ययनका अनुसार पृथ्वीको उच्च तापक्रम वृद्धिले तीव्र गतिमा हिउँ पग्लिएका कारण यो शताब्दीको अन्त्यसम्ममा उच्च उत्सर्जन परिदृष्टिमा हिमालबाट हालको तुलनामा ८०% हिउँ पग्लने देखाएको छ ।
ग) भौगोलिक अवस्थिति
नेपालको भौगोलिक अवस्थितिका कारण पनि नेपालको ऊर्जा व्यापार चुनौतीपूर्ण छ । भूपरिवेष्ठित राष्ट्र नेपालले तेस्रो मुलुकसँग कुनै प्रकारका व्यापारिक सम्झौता गर्न भारतको सहमति आवश्यक रहन्छ । त्यसकारण पनि नेपालको अन्तर्राष्ट्रिय ऊर्जा व्यापारको बजार भारतमा सिमित छ ।
घ) परनिर्भरता
नेपालसँग जल बिद्युत उत्पादनमा झन्डै सय वर्ष बढीको अनुभव भएता पनि ठूला जलविद्युत परियोजना निर्माण नहुदा दक्ष जनशक्ति तथा पुँजीमा पूर्णतया बाह्य देशमा निर्भर रहदा समयमा परियोजना सम्पन्न नहुने, लगानी सुनिश्चितता नहुने, प्रविधि हस्तान्तरण उचित ढंगले समयमा नहुने जस्ता समस्याहरु देखिरहेका छन् । दूरदर्शी राजनीतिक नेतृत्व र अभ्यासको कमिका कारण दीर्घकालिन सम्झौताहरुमा चुक्न पुग्दा पनि विद्युत उत्पादन थप सुस्त बनेको छ ।

अतः दुई ठूला देशहरूको बिचमा रहेको नेपाल ऊर्जा व्यापारका लागि पनि राजनीतिक तटस्थताको सिद्धान्त आत्मसात गर्दै कूटनीतिक हुनुपर्ने बाध्यता छ ।तसर्थ सम्भव देखिने जलबिद्युतको सुनौलो भविष्यको सपनालाई ध्यानमा राखी विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने आजको आवश्यकता रहेको छ ।