म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा जेष्ठी पूर्णिमामा ४ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । म्याग्दीको मालीका, रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा समुन्द्री सतहदेखि तीन हजार ३ सय मिटर उचाइमा अवस्थित मालिकाधुरीमा म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, बुटवल लगायतका क्षेत्रबाट भक्तजनले पदैल र यातायातका सवारीसाधनमा पुगेर भक्तजनले पूजआजा गरेको मालिका क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाईजाले बताउनुभयो ।
‘अनुकुल मौसम भएकाले भक्तजनहरुको भिड थियो, भक्तजनलाई आवतजावतमा सास्ती नभएकाले पनि बर्षेनी बढ्दै छन्’ अध्यक्ष पाईजाले भन्नुभयो ।
मन्दिरमा ८२ हजार दानभेटी संकलन भएकोमा पूजाआजामा खटिएका सहित विविध खर्च कटाएर बाँकी रहेको ३६ हजार ५ सय बैंक खातामा जम्मा गरिने अध्यक्ष पाईजाले बताउनुभयो । मन्दिरमा दर्शन गर्न आउनुभएका बागलुङङा अर्जुन सापकोटाले खानेपानीका लागि २५ हजार र बुटबलबाट दिलकुमारी तुलाचनले ६ हजार सहयोग गर्नुभएको छ ।
मन्दिरमा संकलन भएको भेटीबाट मन्दिरमा आवश्यक पर्ने विभिन्न क्षेत्रमा खर्च गरिन्छ ।एउटै चट्टानमा त्रिदेवी मालिका, कालिका र जालपा रहेको मालिकाधुरीमा चण्डी पुर्णिमा, जेष्ठी पुर्णिमा र कार्तिक पुर्णिमामा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लाग्छ ।
त्रिदेवीको दर्शनले मनोकांक्षा हुने जनविश्वासका साथ बषौंदेखि भक्तजनहरू मालिकाधुरी पुग्छन् । कालिका र जालपकाको बीचमा मालिका मन्दिर छ । एउटा ठूलो शिलालाई कालिका र अर्कोलाई जालिकाको रूपमा पुजिन्छ।मन्दिर नजिकै चट्टानमा गणेशको पूजा गरिन्छ ।
आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखला देखिन्छन् ।मन्दिरको चारैतिरबाट सडक सञ्जाल छोडेर करीब साढे तीन घण्टाको यात्रामा पुगिने मालिका मन्दिरलाई धार्मिकसँगै पदयात्राका लागिसमेत सुन्दर गन्तव्यका रुपमा विकास गर्न मालिका र रघुगंगा गाउँपालिकाले सडक सञ्जाल विस्तार गरेकाले करिब एक घण्टाको पैदलयात्रामा पुगिन्छ ।