ज्येष्ठनागरिकहरुको निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजनामा मङ्गलवार निःशुल्क आँखा तथा दन्त परीक्षण सम्बन्धी शिविर सम्पन्न भएको छ । २०औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्यकर्मी महासंघ म्याग्दीद्वारा बेनी नगरपालिका–९, गलेश्वरमा आँखाको चेकजाँच गर्नुका साथै दन्त परीक्षण गरिएको हो ।
‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीहरुको एकता, आम नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आयोजना, नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दी र न्यू म्याग्दी डेन्टल होमको प्राविधिक सहयोगमा गलेश्वरधाम ज्येष्ठनागरिक आश्रममा शिविर सञ्चालन गरिएको थियो ।
निःशुल्क स्वास्थ्य शिविरमा गलेश्वरधाम ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्रमुख दिनेश बानियाँले आँखा परीक्षण तथा न्यू म्याग्दी डेन्टल होमका डेन्टल हाईजेनिष्ट गौतम छन्त्यालले दन्त परीक्षण गर्नुभएको थियो । शिविरमा ४३ जना ज्येष्ठनागरिकसहित अन्य गरेर ५४ जनाले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका थिए । गलेश्वरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी २०औं स्थापना दिवस मनाइएको आयोजकले जनाएको छ ।
ज्येष्ठनागरिकहरुको आँखा तथा दन्त परीक्षण शिविर राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका जिल्ला अध्यक्ष रुमाकुमारी खत्री बरुवालको अध्यक्षता, सचिव दिनेश बानियाँको सञ्चालन र महासंघको संस्थापक अध्यक्ष तथा सल्लाहकार मिना राम्जालीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गलेश्वरधाम ज्येष्ठनागरिक आश्रमका उपाध्यक्ष देवीलाल छन्त्याल, महासंघका पदाधिकारी र सदस्य लगायतको विशेष उपस्थिति रहेको थियो ।
गलेश्वरधाम ज्येष्ठनागरिक आश्रममा रहेका ज्येष्ठनागरिकहरुको स्वास्थ्य अवस्था पत्ता लगाउन निःशुल्क रुपमा शिविरको आयोजना गरिएको महासंघका अध्यक्ष बरुवालले बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ म्याग्दीले दिवस तथा अन्य समयमा विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।