प्रकाश पौडेलको नेतृत्वमा चम्किएकोः मेडिकल क्षेत्रको ऐतिहासिक आन्दोलन

२०७८ को पुस महिना पोखराको मणिपाल मेडिकल कलेजका विद्यार्थीहरूका लागि अविस्मरणीय बन्यो । तत्कालीन अनेरास्ववियु गण्डकीका अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा भएको ३१ दिने आन्दोलनले मेडिकल शिक्षा क्षेत्रमा ठूलो तरंग ल्याएको थियो ।

पोखरा स्थित मणीपाल मेडिकल कलेजले कोरोना महामारीपछिको संकटमा ८० भन्दा बढी विद्यार्थीहरूलाई प्रतिव्यक्ति ६ लाखभन्दा बढी शुल्क वृद्धिको बिल थमाएपछि विद्यार्थीहरू आक्रोशित बने अवस्था आएको थियो ।

यही अन्यायविरुद्ध पौडेलले सशक्त आवाज बुलन्द गरे, जसले गण्डकी प्रदेशको मेडिकल शिक्षा क्षेत्रमा एउटा नयाँ इतिहास लेख्यो । पौडेल त्यतिबेला गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधु अधिकारीसँग स्वास्थ्य क्षेत्र सुधारका माग राखिरहेका थिए । सोही बेला मणिपालका विद्यार्थीहरूले उनलाई फोन गरेर शुल्क वृद्धि र प्रशासनको दबाबको बारेमा जानकारी दिए ।

पौडेल तत्काल मणिपाल शिक्षण अस्पताल पुगे र विद्यार्थीहरूसँग छलफल गरे । कलेज प्रशासनले चर्को शुल्क लिएर विद्यार्थीहरूलाई मानसिक दबाब दिएको तथ्य बाहिरिएपछि उनले आन्दोलनको नेतृत्व गर्ने निर्णय लिए । मणिपाल मेडिकल कलेजको गेटमा ३१ दिनसम्म चलेको आन्दोलनले देशैभर चर्चा पायो ।

पौडेलको नेतृत्वमा एकजुट भएका विद्यार्थीहरूले शुल्क वृद्धिको विरोधमा नारा लगाए, धर्ना दिए र प्रशासनको अन्यायपूर्ण कदमविरुद्ध सशक्त प्रदर्शन गरे । कलेज प्रशासनले आन्दोलन दबाउन विभिन्न दबाबका रणनीति अपनायो । पार्टी नेताहरूको प्रभावदेखि अन्य क्षेत्रका शक्तिशाली व्यक्तिहरूलाई प्रयोग गरेर पौडेलमाथि दबाब सिर्जना गरियो । तर, पौडेलले हार मानेनन् ।

उनले विद्यार्थीहरूलाई एकताबद्ध राख्दै आन्दोलनलाई निरन्तरता दिए । यो आन्दोलनको परिणाम स्वरूप मणिपाल मेडिकल कलेजले थमाएको अनावश्यक शुल्क खारेज गर्न बाध्य भयो । विद्यार्थीहरूले राहतको सास फेरे । पौडेलको नेतृत्वमा भएको यो आन्दोलन पछिल्लो दशककै मेडिकल कलेज सञ्चालकविरुद्धको सबैभन्दा सफल आन्दोलन मानिन्छ । यो घटनाले पौडेललाई मेडिकल क्षेत्रका विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बनाएको छ ।

आज पनि मणिपालका विद्यार्थीहरू पौडेललाई सम्मानका साथ सम्झिन्छन् । उनको साहस र नेतृत्वले मेडिकल शिक्षामा व्याप्त शुल्कको मनपरीविरुद्ध लड्न सकिन्छ भन्ने सन्देश दिएको छ ।