भोलिदेखि केही शीतल शुर हुने भएको छ । बङ्गालको खाडीमा बनेको न्यून चापीय हावाका कारण भोलिदेखि नेपालमा पनि बदली र केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि बेलुकापछि कोशी प्रदेशमा रहेको मनसुन सक्रिय भएर थप विस्तार हुने भएकाले वर्षा हुने र केही दिनमै देशका अरू भेगमा समेत मनसुन फैलने महाशाखाको अनुमान छ ।
बङ्गालको खाडीमा मनसुन चापीय क्षेत्र कमजोर र पूर्वी एशियामा बलियो बनेका कारण नेपाल आइसकेको मनसुन पनि शिथिल बनेको हो । तर बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले केही दिनमै सक्रिय भएर पर्याप्त वर्षाको सम्भावना रहेको छ ।
आज पनि काठमाण्डौ उपत्यकासहित आसपासमा सामान्य पानी परेको छ । पछिल्लो ६ घण्टामा काभ्रेको पनौतीमा १७ दशमलव २ मिलिमिटर र सोलुखुम्बुको पेकरनासमा झन्डै २२ मिलिमिटर वर्षा भएको छ । पूर्वको खोटाङ, सोलुखुम्बुसहित काभ्रे, सिन्धुपाल्चोक, काठमाण्डौ उपत्यका र उपत्यकाबाट पश्चिमतर्फ म्याग्दी, रुकुम, सल्यान, जुम्लालगायतका जिल्लामा पनि पानी परेको छ ।