तरकारी खेतीबाट सम्पत्ति मात्रै होइन सामाजिक प्रतिष्ठासमेत प्राप्त हुन थालेपछि म्याग्दीका किसानहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।
जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाका एकसय ३० भन्दा बढी युवाहरु वैदेशिक रोजगारीबाट फर्केर व्यवसायिक रुपमा नै तरकारी खेती र पशुपालन गरी विदेशको भन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
आफ्नै गाउँमा बसेर पिता पुर्खाले पसिना बगाएको खेतबारीमा नै विदेशको भन्दा बढी कमाइ र समाजमा प्रतिष्ठा हुन थालेपछि कैयौं युवाहरुले विदेश जाने विचार छोडेर गाउँमा नै तरकारी, फलफूल खेती र पशुपालन सुरु गरेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
रघुगंगा गाउँपालिका वडा नं ६,५ र ३ का युवाहरु पछिल्लो समय भेडाबाख्रा पालन, तरकारी र फलफूल खेतीतिर आकर्षित भएपछि गाउँपालिकाले सहुलियत र सुविधाहरु दिनुका साथै उनीहरुलाई गाउँपालिकाले तालिम र सीप समेत प्रदान गरेको उहाँले बताउनुभयो ।
यहाँका व्यवसायिक किसानहरुले आफ्नै खेतबारीको माटोसंग खेल्दै,रमाउँदै गरेको मिहिनेतले उनीहरुको जीवन कायापलट भएको छ । बेनी नगरपालिका-२ का चन्द्रबहादुर कार्की, शोभित सापकोटा, हरिलाल घिमिरेलगायत जिल्लाका धेरै किसानहरुका लागि तरकारी खेती बरदान सावित भएको छ ।
व्यवसायिक रुपमा तरकारी खेती गरेका यहाँका किसानहरुले तरकारी विक्रि गरेर सम्पत्ति मात्र कमाएका छैनन् सामाजिक मान र प्रतिष्ठा पनि आर्जन गरेका छन् ।
सापकोटा, कार्की र घिमिरेको विगत अत्यन्त दयनीय भए पनि अहिलेको अवस्था देख्दा धेरै मानिसहरु लोभिने गर्दछन् । सानैमा बुबाको मृत्युभएपछि १८/२० वर्षको उमेरसम्म दुःख र अभावबाहेक अरु केही नपाउनुभएका बेनी नगरपालिका २ खबराका ४५ वर्षिय सोभित सापकोटा अहिले आरसिसि पक्की घरमा बसेर घर वरिपरि गरेको तरकारी र फलफूल खेतीलाई हेर्दै सुखद वर्तमानमा रमाइरहनुभएको छ ।
जिल्लाका विभिन्न संघसंस्थाहरुबाट पटकपटक सम्मानित भैसक्नु भएका सापकोटाले तरकारी र फलफूल विक्रि गरेर नै बार्षिक रु दशलाख भन्दा बढी आम्दानी हुनेगरेको बताउनुभयो ।
सापकोटाले १७ रोपनी जग्गामा तरकारी र फलफूल खेती गर्नुभएको छ । उहाँको बारीमा सदाबहार तरकारी झुलिरहेका र फलफूलहरु लटरम्मे फलिरहेका हुन्छन् । तरकारी र फलफूल खरिद गर्न व्यापारीहरु घरमा नै आउने भएकाले बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । तरकारी बेचेर नै उहाँले खबरामा आरसिसि घर बनाउनुभएको छ । छोरोछोरीलाई सहरका महंगा स्कुल र कलेजमा पढाउनुभएको छ । मोटरसाइकलदेखि सूचना प्रविधि र आधुनिक कृषि उपकरणहरुको भरपुर प्रयोग गर्दै मनग्गे लाभ लिन सफल हुनुभएको छ ।
त्यसैगरी बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने खबराकै चन्द्रबहादुर कार्कीको जीवन तरकारी खेतीबाट नै हराभरा भएको छ । हँसिला र फरासिला६० वर्षिय कार्की म्याग्दीका अग्र्यानिक तरकारीका पिता समेत मानिनुहुन्छ ।
कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका सरह भएको छ। ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती सुरु गर्नुभएका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाउनुभएको छ ।
तरकारीको बिऊ र विरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर व्यावसायिक अग्र्यानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेरै रु १२ लाखभन्दा बढी आम्दानी हुने बताउनुहुन्छ ।कार्कीले १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ ।
म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दुरीमा छ म्याग्दीका अगुवा कृषक कार्कीको भव्य पक्की घर । घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेंडा, काउली, बन्दाकोबी, मूला, गाजर, सिमी, काँक्रा, साग, प्याज, लसुन, धनियाँ र अरू धेरै तरकारी। घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोमा छ उहाँको पसल। पसलमा फलफूल र तरकारी छन् । लभ्लीहिल जाने पर्यटक त्यही पसलमा फलफूल र तरकारी किनेर फर्किने गर्छन्।
तरकारी मात्रै होइन सापकोटा र कार्की दुवैले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीसँगै केरा खेती र माछा पाल्नुभएको छ भनेसापकोटालेतरकारी,केरा र बाख्रापालनबाट आम्दानी लिन सफल हुनुभएको छ ।
एउटै गाउँका यी दुई जना कृषकको देखासिकी गरेर अहिले पूरै खवरा गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ। २ सय ४० घरधुरीको बसोबास रहेको खबराका प्रायः सबै तरकारी र फलफूल खेतीमा लागेका स्थानीयवासी समेत रहनुभएका बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
सापकोटा र कार्कीले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आउनुभएको स्थानीयको भनाइ छ । विषादीका कारण स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने सुनेका सापकोटा र कार्कीलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नआएको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।
त्यसैगरी जीवनको उत्तरार्धमा अम्बोटका हरिलाल घिमिरले पनि तरकारी खेतीबाट नै मनग्गे आम्दानी लिन सफल हुनुभएको छ । जीवनको उर्मर समय साउदी अरव र मलेशियामा विताउनुभएका ५२ वर्षिय घिमिरेले १० वर्ष अघिदेखि व्यवसायिक तरकारी खेतीको सुरुवात गर्नुभएको हो । यो अवधीमा उहाँले १८ वर्षसम्म साउदी र मलेशियामा बसेर कमाउन नसकेको पैसा तरकारी खेतीबाट १० वर्षमा नै कमाइसक्नु भएको छ ।
सापकोटा, कार्की र घिमिरे यी तीनजना कृषक प्रतिनिधि पात्र मात्र हुन् । म्याग्दीमा पछिल्लो समय व्यावसायिक अग्र्यानिक तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको संख्या बढ्दै हुँदै गएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीकाअनुसार जिल्लाका ५० भन्दा बढि कृषकहरुले व्यवसायिक तरकारी खेती गरेका छन् । उनीहरुले तरकारी खेतीबाट नै मनग्गे आम्दानी गर्न सफल भएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।