‘आफूले आफैलाई माया गरौं’ भन्ने मूल नारासहित कोर भ्याल्यु एजुकेसन सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको संयुक्त आयोजना तथा मिलनको व्यवस्थापनमा सोमबार जामुनाखर्क माध्यमिक विद्यालय अर्थुङ्गेमा कार्यक्रम गरिएको हो ।
बेनी नगरपालिका वडानम्बर ६ वडा कार्यालय र विद्यालयसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । समुदायस्तरमा हुने विभिन्न किसिमका हिंसा तथा आत्महत्या रोकथामलगायत विविध विषयहरुमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीहरुमार्फत समुदायमा सचेतना फैलाउने लक्ष्यसहित विद्यालयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णसिङ बानियाँले हिंसाको न्यूनीकरण गरी सुमदायमा सचेतना फैलाउनुपर्ने दायित्व आम सरोकारवाला निकाय सबैको रहेको बताउनुभयो । उहाँले विद्यालय तहबाट वास्तविक जीवन के हो र जीवनको महत्वका बारेमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै राज्य र राज्यका निकायबाट सञ्चालित सचेतना सम्बन्धी कार्यक्रमहरुको पूर्ण रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले पछिल्लो समय विभिन्न गतिविधिका कारणले मानिस आफूले आफैलाई सिध्याउने काममा लागिपरेको बताउँदै त्यस्ता गलत क्रियाकलापहरुलाई रोक्नको लागि कार्यालयमार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिइएको बताउनुभयो । उहाँले विद्यालय र समुदायस्तरमा सचेतना फैलाएर आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने भन्दै गलत क्रियाकलाप रोक्न तथा नियन्त्रणको लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । विद्यालयमार्फत समुदायका नागरिकहरुमा सचेतना फैलाउन कोर भ्याल्यु एजुकेसनको कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना, प्रदेश अस्पताल बेनी म्याग्दीका मनोसामाजिक परामर्शकर्ता सरिता अर्यालले मानसिक स्वास्थ्यको सचेतना र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले आत्महत्या न्यूनीकरणमा समुदाय तथा सरोकारवालाको भूमिकाको विषयमा सहजीकरण गर्नुभएको थियो । सामाजिक विकास कार्यालय प्रमुख सुवेदीले उद्देश्यसहित प्रकाश पार्नुभएको कार्यक्रमको मिलन म्याग्दीका कर्मचारी राम खड्काले सञ्चालन गर्नुभएको थियो ।
जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय शारदा राना, राधिका विश्वकर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिनाथ शर्मा, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँ विद्यालयका शिक्षक, अभिभावकहरु र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी आइतबार मंगला गाउँपालिका–२, बाबियाचौरस्थित मंगला शिक्षा क्याम्पसमा पनि गाउँपालिका र क्याम्पसको समन्वयमा कोर भ्याल्यु एजुकेसन सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै शनिवार रघुगंगा गाउँपालिका–३, पिप्लेको दुलेपानी टोलमा समेत वडा कार्यालयसँगको समन्वय र मालिका आधारभूत विद्यालयको व्यवस्थापनमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको मिलन म्याग्दीले जनाएको छ ।