बागलुङ नगरपालिका–६, भान्सागाउँमा जन्मेर भारतको विभिन्न स्थानमा ख्याति कमाउनुभएका कमलनयनाचार्यको अगुवाइमा पञ्चकोटमा करोडौँका योजनामार्फत पर्यटन र धार्मिक गन्तव्य बन्दै छ । २०७१ फागुन ७ गतेदेखि पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी अभियान सुरु भएको थियो । पञ्चकोटको झन्डै दुई सय रोपनीभन्दा बढी जमिनमा ६० करोड लगानीबाट धार्मिक तथा पर्यटकीय संरचना बनिसकेका छन् ।
बागलुङ नगर क्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट नामकरण भएको हो । हाल मुख्य पूर्वाधार निर्माण भइरहेको ताराजालकोट हो । ताराजालदेखि माथिल्लो कारीकोट, त्यसमाथि माझकोट र रायरायकोट छन् । सबैभन्दा अग्लो पहाडमा संसारकोट छ । पाँच वटा कोटलाई नै पर्यटन र धार्मिक गन्तव्य बनाउन लागिएको हो । यहाँ गण्डकी माताको मन्दिर, गरुण शिला, हनुमानको विशाल मूर्ति, सिसमहल, सभा हल, भोजनालय तथा हवनकुण्डलगायतका संरचना बनिसकेका छन् । पाँच हजार ५५५ केजीको घन्टी राखिएको छ । ती सबै संरचना बनाउन हरेक वर्ष महायज्ञ लगाएर रकम सङ्कलनको काम हुँदै आएको छ । केही संरचना निर्माणमा बागलुङ नगरपालिका, गण्डकी प्रदेश र पर्यटन मन्त्रालयले पनि साथ दिएको छ ।
पञ्चकोटमा संसारकै अग्लो कलश निर्माण गर्ने लक्ष्य राखिएको छ । १०८ फिट अग्लो कलश बनाएर यहाँका पाँच वटा कोटलाई पर्यटकीय र धार्मिक गन्तव्य बनाउने योजना छ । कलशका लागि फाउन्डेसन तयार भइसकेको छ । संसारकै अग्लो कलश बनेपछि नेपाल र भारतका लाखौँ पर्यटकलाई पञ्चकोटमा आकर्षित गर्न सकिने सम्भावना देख्नुहुन्छ अभियानका अगुवा स्वामी कमलनयनाचार्य ।
कलश बनाउने अभियानलाई सघाउने गरी पञ्चकोटमा ‘ब्रह्माण्डीय महायज्ञ’ सम्पन्न भइसकेको छ । कलश झन्डै १३ तलाको घर बराबरको हुने गरी डिपिआर बनिसकेको छ । बाहिरी स्वरूप कलश जस्तै भए पनि भित्री खण्डमा बन्ने १६ वटा कोठामा धार्मिक गतिविधि हुने छन् । झन्डै दुई अर्ब खर्च अनुमान गरिएको पञ्चकोटको बृहत् पूर्वाधार निर्माणमा महायज्ञ, स्थानीयको दानमुठी र चन्दाबाट ती संरचना बनेका हुन् ।
राज्यका उच्चपदस्थ आउने भएपछि पञ्चकोटमा नेपाली सेनाले पक्की हेलिप्याडसमेत बनाएको छ । दैनिक जसो बस र जिपमा सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पञ्चकोट आउने गरेको वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । पञ्चकोट धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएपछि कतिपय बसाइँ सरेर काठमाडौँ र मधेश झरेकाहरू गाउँ फर्कन थालेको केसीको भनाइ छ ।
दीर्घकालीन रूपमा पर्यटकीय गन्तव्य बन्ने भएपछि भान्सा र सिमगाउँका अधिकांश घरमा रेस्टुरेन्ट सञ्चालनको तयारीमा स्थानीय जुटेका छन् । पर्यटकीय चहलपहल बढ्न थालेपछि यहाँको जग्गाको मूल्यसमेत बढेको सुमन किसानले बताउनुभयो । बागलुङ नगरपालिकाले पाँच वटै कोटको संयुक्त क्षेत्रलाई जुलोजिकल पार्क बनाउने योजना अगाडि सारे पनि बजेट अभावमा अहिलेसम्म काम भने हुन सकेको छैन ।