वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने विषयमा अन्तर्क्रिया

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सिप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित आइतबार बेनीमा वैदेशिक रोजगार सम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेनी नगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि नगरपालिकामार्फत सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम प्रभावकारी बन्दै जान थालेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारी नेपालीहरुका लागि बाध्यता र आवश्यकता बन्नुका साथै अध्ययन गर्न जानेहरुलाई समेत सामी कार्यक्रममार्फत श्रम स्वीकृती लिएर विदेश जानेहरुलाई पूर्व सूचना, वित्तीय साक्षरता र मनोपरामर्श सेवालगायत आवश्यक कामहरुमा सहजीकरण गर्ने गरिएको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन रचनात्मक खबरदारी तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जानेहरुले त्यहाँ पुगेर गर्नुपर्ने काम, पाउनुपर्ने सेवासुविधा र अन्य अवस्थाबारे पूर्व जानकारी लिएर मात्रै जाने वातावरण बनाउनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बेनी नगरपालिकामार्फत सञ्चालित सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन सचेतना फैलाएर परामर्श दिने काम भैरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले वैदेशिक रोजगारीको वर्तमान सन्दर्भ, सामी कार्यक्रम तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रावधान, सामी कार्यक्रमको कार्यक्रम अधिकृत उमा पौडेलले सुरक्षित आप्रवासन सामी कार्यक्रमका उपलब्धिहरु तथा वैदेशिक रोजगारीको मुख्य सरोकारवालाहरु र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँले वैदेशिक रोजगारको सवालमा सञ्चारकर्मीहरुको संवेदनशीलता, नीतिगत समाचार सम्प्रेषण, गोपनीयता, समाचारको शीर्षकले समाजमा पार्न सक्ने असर तथा आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम अधिकृत पौडेलले सरकारले स्थानीय तहको तल्लो इकाइसम्म वैदेशिक रोजगारका समस्या समाधान गर्नेगरी आवश्यक भूमिका खेल्ने संयन्त्रको रुपमा देशव्यापी सामी कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो ।

उहाँले हाल म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकामा सञ्चालन भैरहेको सामी कार्यक्रम आगामी वर्षदेखि मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत सञ्चालन हुने जानकारी दिनुभयो ।

स्वीस सरकारको आर्थिक सहयोगमा संघ, प्रदेश र बेनी नगरपालिकाको साझेदारीमा गएको आर्थिक वर्षदेखि म्याग्दीको बेनी नगरपालिकामा सामी कार्यक्रम सञ्चालन भएको छ । नगर प्रमुख केसीको अध्यक्षतामा सम्पन्न पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रमको बेनी नगरपालिकाका रोजगार संयोजक चित्रनाथ आचार्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र सञ्चारिका समूह नेपाल म्याग्दीका पदाधिकारी, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सामी कार्यक्रमले खासगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिनबाट बचाउनलाई उचित परामर्श दिनुका साथै विदेशको कामलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने कार्यमा पैरवी गर्दै आइरहेको छ ।