अनुपम पहिचानले धनी म्याग्दीको गूर्जा

गुजुमुज्ज परेका परम्परागत शैलीका घरहरु, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरुको वस्ती भएको गूर्जा गाउँ जहाँ म्याग्दी सदरमुकाम बेनीबाट दुई दिनको कडा, साहसिक र अनकण्टार वनजङ्गलको यात्राबाट मात्रै पुगिन्छ । जिल्लामा चलेको एउटा भनाइ छ– “टुप्पीदेखि माथि ठाउँ छैन, गूर्जादेखि माथि गाउँ छैन ।” यो उखानबाट नै स्पष्ट हुन्छ गूर्जाको अवस्था, विवशता र बाध्यता । यातायात र अन्य सुविधाबाट निकै टाढा रहेकोे यो गाउँमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको छ । गूर्जा हिमालको फेदमा अवस्थित हुनु गूर्जाको एउटा विशेषता हो । यति मात्र होइन । एउटा वस्तीको कतिवटा परिचय हुन्छ ? म्याग्दीको एक अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गूर्जा गाउँको परिचय धेरै छन् । यसैगरी हिमालको खोकिलामा लुकेको गूर्जा धवलागिरि गाउँपालिका वडा नं. १ को वस्ती हो ।

साथै परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास पनि हो । गूर्जालाई पर्यावस्ती मात्र नभनी यार्सागुम्बा, रातो च्याउ र सतुवा समेत मुख्य आम्दानीको स्रोत नै जडिबुटी भएकाले हर्बल–हव पनि भन्ने गरिएको छ ।

एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युतको उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भित्रिएको, १ सय ४२ घर परिवारले बसोबास गरेको र समुन्द्री सतहबाट ३२२० मि. उचाइमा अवस्थित गूर्जा गाउँ छन्त्याल जातिको जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझ्याल हो । पशुपालन र जडिबुटीलाई जीविकोपार्जनको एउटा महत्वपूर्ण स्रोत बनाएका गूर्जावासीहरुका लागि जडिबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसरहरु थुप्रै छन् ।

गूर्जा, चुरेन र पुथा हिमालको फेदीमा अवस्थित गूर्जा गाउँबाट सबैभन्दा नजिकको मानव वस्तीमा पुग्न कम्तीमा ८ घण्टा घना जङ्गलबाट पैदलयात्रा गर्नुपर्ने भएकाले गूर्जालाई लुकेको वस्ती, दूरवस्ती, एकल वस्ती तथा एउटा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिएको पाइन्छ । तर अहिले लुलाङदेखि माथि सडक विस्तार भएकाले पहिलेभन्दा अहिले पैदलयात्रा छोटिएको छ ।

कतिपय गाउँ ठाउँमा प्रकृतिले पनि बहुमूल्य सम्पदाहरु छरपष्ट पारिदिँदो रहेछ जुन सम्पदाहरुलाई स्याहार्न, पहिचान गर्न र उपभोग गर्न मानिसलाई हम्मेहम्मे पर्दाेरहेछ । ‘सुकेको ज्यानमा लुकेको बल हुन्छ’ भनेझैँ सानो अनि विकटमा रहेको गूर्जा अनगिन्ती सम्पदा र संस्कृतिले सु–सज्जित र झकिझकाउ छ । प्रविधि र पहुँच नपुग्ने अनकण्टार र दुर्गम ठाउँमा बहुमूल्य सम्पदाहरु लुकाएर राख्ने प्रकृतिको स्वभाव नै हुँदोरहेछ । यस्तै भएको छ, म्याग्दीको अत्यन्त दूरदराजको ठाउँ गूर्जामा पनि । जहाँ प्रकृतिले बहुमूल्य कार्ज नामक ढुङ्गाको खानी सुरक्षित राखेको छ । कार्ज ढुङ्गाका कारण रातको समयमा हिरा जस्तै टल्कने गूर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाड गूर्जाको गौरव बनेको छ । यसले सबैको ध्यानाकर्षण गरेको छ र राज्यलाई अर्बाैं रुपैयाँ आम्दानी बढाउनको लागि उत्खनन् गर्न आह्वान गरिरहेको छ । गूर्जाको पहाडमा रहेको हिरा जस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन् हुन सक्यो भने राज्यले अर्बाैं रुपैयाँ पाउने सम्भावना हुन्छ । हिरा, मोती जस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने कार्ज नामक उक्त ढुङ्गाको खानी गूर्जाको पहाडमा रहेको प्रमाणित भैसक्दा पनि उत्खनन्का लागि राज्यले गर्नुपर्नै र गर्न सक्ने सबै पहल नगरेको गुनासो स्थानीयवासीको छ । खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुङ्गाखानीको पहिचान गरेपनि उत्खनन्का लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको गूर्जाको घुर्मखोला अन्तर्गत पर्ने गूर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुङ्गा म्याग्दीको सदरमुकाम बेनीको छैटौँ म्याग्दी महोत्सवमा प्रदर्शनमा राखिएको थियो ।

हिमालको दृश्यावलोकन गर्नेहरुलाई जति धेरै मात्रामा चम्किला र आकर्षक लाग्छन्, हिमाली वस्तीका मान्छेहरुका लागि तिनले दिएका सकसपूर्ण जीवन र गर्नुपरेको बसाइँसराइ त केबल सो ठाउँमा रहेर झेल्नेहरुले मात्र अनुभव गरेका हुन्छन् । अनि कैयौँ दिन आफ्न्तहरुबाट सम्पर्कविहिन भएर हिँड्नुपर्दाको अप्ठेरो त ती पर्वतारोहीहरु र साहसिक पर्यटकहरुले मात्रै बेहोरेका हुन्छन् नै । तैपनि ती सारा कष्टकर अनुभूतिहरु तिनै सुरम्य र सेताम्य दन्तलहरझैँ मिलेर ठडिएका चाँदीझैँ टल्कने हिमशिखरहरुको लर्कन हेरेपछि खै को नै पो मन्त्रमुग्ध नहोला र ? पहिलोपटक आरोहण अनुमति पाएको म्याग्दीको गूर्जा हिमाल (७१९३ मिटर)को आरोहणमा आउने स्वदेशी तथा विदेशी आरोही पर्यटकहरु अनकन्टार यस क्षेत्रको साहसिक पदयात्रामा हौसियर आएपछि यहाँको वस्ती छोड्न सितीमिती तयार हुँदैनन् । पदयात्रा क्षेत्रमा सहज सञ्चार सम्पर्क नहुँदाको कठिनाइलाई पनि सहजै भुलिदिन्छन् । साहसिक मानिने पदयात्रा जोखिम क्षेत्रमै हुने हो । वस्ती छोडेपछि कैयौं दिन अनकन्टार उकाली र ओरालीमा हिँड्नुपर्छ । त्यसो त साहसिक मानिएका नेपालका अधिकांश पदमार्गमा वस्तीपछिको क्षेत्र सञ्चार सम्पर्कविहिन हुन्छन् । त्यसको परिणाम पदयात्रीले भोग्नुपर्छ । पदयात्रीले सबै ठाउँमा स्याटेलाइट फोन लैजान सक्दैनन् । स्याटेलाइट फोन निकै नै महङ्गो पर्छ । खर्चिलो भएकोले जो कोहीले स्याटेलाइट फोन लैजाने आँट गदैैनन् पनि । वस्ती छुट्यो, सम्पर्क पनि टुट्यो । यो यात्रा निकै साहसिक हुने गर्छ । साहसिक ठानिएका धेरै पदमार्गका फोन नै लाग्दैन । कतिपयमा होटल पुगेपछि महङ्गो शुल्क तिरेर स्याटेलाइट फोनबाट सम्पर्क गर्नेबाहेक विकल्प पनि हुँदैन ।

गूर्जाका स्थानीयवासी र गाउँ आउने पर्यटकहरुको सुविधाका लागि गाउँमा १५ वटा घोडा पालिएका छन् । गाउँदेखि देउराली डाँडासम्म पु¥याएको एउटा घोडाको दुई हजार रुपियाँ र लुलाङ गाउँसम्म पु¥याएको तीन हजार रुपैयाँ शुल्क निर्धारण गरी स्थानीयका साथै गूर्जा घुम्न आउने पर्यटकहरु फर्किंदा घोडा चढेर फर्किने सुविधा पनि स्थानीय घोडा व्यवसायीहरुले चाँजोपाँजो मिलाउँछन् । गूर्जा पुग्ने पर्यटकहरु कसैले रमाइलोका लागि घोडा चढ्छन् भने कोही बाध्यताले घोडा चढ्छन् । उकालो र लामो बाटो भएकाले घोडा आवतजावतमा निकै उपयोगी पनि हुन्छ ।

गुर्जा गाउँदेखि एक दिनको पैदलयात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने पत्थर म्याग्दीका लागि ‘भिल्लाका देशमा मणि’ जस्तै बनेको छ । विचित्रको हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गूर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गूर्जा गाउँमा अझै छ । गूर्जा गाउँ पछिल्लो समय पर्यटन र जडिबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ । गूर्जामा यार्यागुम्बा, रातो च्याउ, सतुवा र जडिबुटी मात्रै होइन हाल ईटालियन गोल्डेन स्याउको व्यावसायिक खेती समेत सुरु गरेकोले अहिले गूर्जाको परिचय फेरिएको छ । गूर्जा गाउँबाट ढोरपाटन, गूर्जा, पुथा र चुरेन हिमालको आधार शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ । शिविरबाटै डोल्पा, गूर्जाबाट धौलागिरि आधारशिविरसम्म पुग्न सकिने भएकाले एड्भेन्चर टे«ल हवको रुपमा पनि परिचित हुन थालेको छ । कृषि, पर्यटन र खानी जस्ता अनेकौं सम्भावना नै सम्भावनाले युक्त विकट गूर्जालाई हवाई तथा पैदलमार्गको गन्तव्यस्थल बनाउन जरुरी छ । बेनीबाट गूर्जासम्म २५ मिनेटमा हेलिकप्टरमार्फत पुग्न सकिने भएकाले पर्यटन प्रवद्र्धनका लागि गूर्जा गाउँ समग्र जिल्लाको लागि पनि एउटा सुन्दर गन्तव्य बन्न सक्छ ।

जिल्लाको सबैभन्दा दुर्गम वस्तीका रुपमा परिचित गूर्जा जिल्लाको एक मात्र सडक सञ्जालको पहुँच नपुगेको वडा हो । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवतीहरु गूर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरे पनि भारी वर्षा र हिमपात हुने हिउँदमा केही महिना खच्चडलाई समेत सामान बोकाउन नमिल्दा सामान ढुवानी ठप्प हुने गर्छ । सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता पनि गूर्जावासीहरुको रहेको छ । गतवर्ष मुनादेखि खोरिया हुँदै लमसुङसम्म विस्तार भएको सडक सञ्जाल यसवर्ष लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण र यातायात सञ्चालन भएपछि ३० मिनेटमा छोटिएको छ । लुलाङबाट गुर्जासम्म भने ६ देखि ८ घण्टाको पैदलयात्रा हो । विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै गर्नुपर्ने पैदलयात्रा गतवर्ष करिब साढे एक घण्टाको पैदलयात्रा दुरी छोटिएको थियो भने यसवर्ष लुलाङबाट देउरालीसम्म ६ किलोमिटर र देउरालीबाट पनि क्रमशः अगाडि सडकमार्ग निर्माण भैरहेको छ । पछिल्लो समय सो खण्डमा पर्ने सडक निर्माणको कार्यले पाएको तीव्रतासँगै गूर्जालाई सडक सञ्जालले छिट्टै छुने कुरामा आशाको दियो बलेको छ । सडक सञ्जाललाई गूर्जा गाउँसम्म पु¥याउने हरेक गूर्जालीको सपना छ ।

गुर्जाबाट ढोरपाटन, गूर्जा, पुथा र चुरेन हिमालको बेसक्याम्पको एउटै पदमार्गबाट छिचोल्दै रुकुम निक्लने यार्सा मार्ग पर्छ । बेस क्याम्पबाटै डोल्पा, गूर्जाबाट धौलागिरि बेसक्याम्प पुग्न सकिने भएकाले पछिल्लोपटक एड्भेन्चर, टे«ल हवको रुपमा पनि परिचित हुन थालेको छ । म्याग्दीको बेनीबाट ताकम, गूर्जा, पुथा र चुरेन बेसक्याम्प हुँदै रुकुमको टकसरा निस्कने यार्सा ट्रेल पूरा गर्न सकिन्छ । गूर्जा एउटा साहसिक पदयात्राको लागि टे«ल हव र अनगिन्ती हिमाली जडिबुटी पाइने भएकाले गूर्जा हर्बल हव पनि हो । गूर्जाको पर्यटन प्रवद्र्धनको लागि, गरिबीका लागि पर्यटन अभियान र जडिबुटीको व्यावसायिक खेती सुरु हुनु सुखद संयोग मान्नुपर्छ । गूर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गूर्जा बेसक्याम्प, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसरासम्मको पदमार्ग पर्छ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा टे«ल राखिएको हो । छिमेकी वस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने असङ्ख्य खाँेच र विकटसँग विविध परिचय बोकेको लुकेको वस्ती गुर्जा पर्यटकको आकर्षण बनेको छ । गूर्जा विश्वविख्यात ढोरपाटन शिकार आरक्षभित्र पर्ने मध्यवर्ती वस्ती पनि हो । गूर्जालाई हव मानेर पर्यटन विकास गर्न पश्चिम धौलागिरि टे«कमार्फत नक्साङ्कन गर्नै मात्र नभई लुकेको वस्ती गूर्जा पदमार्गबारे वेवसाइट, म्याप–बुक र गाइडबुक समेत तयार भएको छ ।

“टुप्पीदेखि माथि ठाउँ छैन, गूर्जादेखि माथि गाउँ छैन” भन्ने उखानले परिचित एउटै वस्ती एउटै वडामा समेटिएको २ सय ६५ घर परिवार र १ हजार ५ सय ५ जनसङ्ख्या रहेको गूर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने एउटा आँखीझ्याल पनि हो । छन्त्याल जातिको सबैभन्दा यो ठूलो गाउँ जिल्ला सदरमुकाम बेनीबाट सबैभन्दा टाढाको वस्तीको रुपमा रहेको । खानी उत्खनन गर्नको लागि आएका छन्त्याल र दलित समुदायले गूर्जामा वस्ती बसाएको भन्ने इतिहास पाइन्छ । गूर्जागाउँ पुग्न म्याग्दीकै लुलाङ, मुदी र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटाहरु रहेका छन् । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि झण्डै ३ हजार ३ सय देखि ४ हजार मिटर उचाइको घना जङ्गली भञ्ज्याङ छिचोल्नुपर्छ । समूहमा आउने एड्भेन्चर र कल्चरल टुरिस्टलाई गूर्जा सेन्चुरी पदमार्ग उपयुक्त छ ।

तर, व्यक्तिगत रुपमा आउने सौखिनका लागि होटल रेष्टुरेण्ट लगायतका आधारभूत पूर्वाधारहरु निर्माण गर्न आवश्यक देखिन्छ । खाली पदमार्गमा पर्ने ताकम, मुना, लम्सुङ र गूर्जाका वस्तीका केही घरमा पर्यटकहरुलाई लक्षित गरेर आधारभूत रुपमा खान र बस्नको लागि कसरी आकर्षण बढाउन सकिन्छ भन्ने विषयमा तालिम दिन सकियो भने यो रुट घुम्न आउने पर्यटकहरु अझ धेरै बढ्छन् भन्नेमा कसैको पनि दुईमत छैन ।
                                                                      लेखक जनकल्याण मावि पुलाचौर, म्याग्दीमा अध्यापन गर्नुहुन्छ ।