म्याग्दी बहुमुखी क्याम्पसमा १० दिनसम्म सञ्चालित आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रममा सहभागी विद्यार्थीहरुले वेवपेज डिजाइनको निर्माणसँगै साईबर सुरक्षाबारे सिकेको अनुभव सुनाएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सञ्चालित कार्यक्रमको बुधवार समापनसत्रमा बोल्दै सहभागी विद्यार्थीहरुले १० दिनको छोटो अवधिमा पनि आईसिटी सम्बन्धी विषयमा धेरै जानकारी हासिल गरेको बताएका हुन् ।
तालिममा सहभागी विद्यार्थी भूमिका भण्डारीले आईसिटी तालिमको अनुभव सुनाउँदै भन्नुभयो, ‘तालिमका प्रशिक्षक सरहरु धेरै योग्य हुनुहुन्थ्यो र सिक्ने वातावरण पनि एकदमै सकारात्मक थियो । जसले गर्दा हामीलाई हरेक दिन नयाँनयाँ विषयको बारेमा सिक्नलाई उत्प्रेरणा मिल्यो । र अन्त्यमा म सामाजिक विकास कार्यालयलाई यस्तो कार्यक्रमको आयोजना गरी सहभागी भएर धेरै विषय सिक्ने अवसर प्रदान गर्नुभएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’
तालिमका अर्का सहभागी अभिशेक बानियाँँले पनि अनुभव सुनाउँदै भन्नुभयो, ‘हामीले १० दिनको तालिम अवधिमा अमेजनको वेवपेज तयार पा¥यौं र त्यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा पनि सिक्यौं । तालिममा आईसिटीको इम्पोर्टेन्स र साइबर सेक्युरिटीको बारेमा पनि सिक्यौं । र यस कार्यक्रम सञ्चालन गरिदिनुभएकोमा सामाजिक विकास कार्यालय र प्रशिक्षक सरहरुलाई म विशेष धन्यवाद दिन्छु ।’ भूमिका र अभिशेषक जस्तै अन्य सहभागीहरुको पनि तालिम अत्यन्तै फलदायी भएकाले आगामी दिनमा निरन्तरता दिनुपर्ने भनाइ छ ।
म्याग्दी बहुमुखी क्याम्पसको सहयोग तथा समन्वयमा सम्पन्न आईसिटी बुटक्याम्प तालिममा वेवपेज डिजाइन, साइबर आक्रमबाट बच्ने उपायहरु, एआई र च्याट जिपिटीको प्रयोग तथा सञ्चालनलगायत ग्राफिक्स डिजाइन र निर्माणका विषयहरुमा सहजीकरण गरिएको जनाइएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वर्तमान समय विज्ञान र प्रविधिको युग भएकाले सामाजिक सञ्जालहरुलाई सकारात्मक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । बढ्दो प्रविधिको सही र उचित तरिकाले प्रयोग गरी अध्ययन तथा अध्यापनका कार्यलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले आईसिटी बुटक्याम्प कार्यक्रमले विद्यार्थीहरुमा ज्ञान, सिप र क्षमताको विकासमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले क्याम्पसमार्फत आगामी दिनमा पनि प्रविधि सम्बन्धी अन्य कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै क्याम्पसले दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले विद्यार्थीहरुमा रहेको क्षमताको प्रयोग गरी उनीहरुलाई सूचना र प्रविधिको क्षेत्रमा दक्ष बनाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक शिवशंकर साहले विद्यार्थीहरुलाई वेवपेज डिजाइन तथा साईबर सुरक्षाबारे सिकाइएको तथा उत्साहजनक सहभागिता जनाएको बताउनुभयो ।
आईसिटी बुट क्याम्प कार्यक्रममा उत्कृष्ट हुने हिमाल उपाध्याय, विज्ञप्ति सुवेदी, सचिना गर्बुजा, राधा खड्का र रविना पुनलाई क्रमशः १० हजार, आठहजार, छ हजार र तीनतीन हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । ३० जना विद्यार्थीहरु सहभागी रहेको तालिमको प्रशिक्षकहरु शिवशंकर साह, सागर पौडेल र हरिहर पौडेलले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रमको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
म्याग्दी क्याम्पसले जिल्लास्थित सरकारी तथा संस्थागत विद्यालयहरुसँग एमओयु गरी विद्यार्थीहरुलाई इन्टर्नसिपमार्फत व्यवहारिक ज्ञान दिएर स्वरोजगार बनाउन विद्यार्थीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि क्याम्पसले म्याग्दी उद्योग वाणिज्य संघ र बैंकहरुसँग एमओयु गरिसकेको सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।