म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ।
अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिएको हो।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले आधार शिविरमा नेपाली संगीतको झल्को दिने प्रस्तुति दिएको छ।
हार्मोनियम, बाँसुरी, गिटारलगायत नेपाली वाद्ययन्त्रको संगीतमा फ्रान्सेली कलाकारको प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएका थिए। अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले भने, ‘अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यस्तो सांगीतिक कार्यक्रम भएको हो, फ्रान्सेली कलाकारको यो प्रस्तुतिले आगामी दिनमा आधार शिविरमा सांगीतिक कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ।’
कलाकारले नेपालीपन झल्कने संगीत र फ्रान्समा प्रचलित नृत्य प्रस्तुत गरेका थिए। अन्नपूर्ण हिमालको काखमा रहेको पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतमा नेपाली र विदेशी पर्यटकले रुचिपूर्वक अवलोकन गरे।
हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गरेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संगीतमार्फत पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको हीरक महोत्सवमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ। साथै, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दूरीको म्याराथन र मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न भए। रासस