‘एउटा भीषण र भयानक हुन्डरीले हामीलाई ढाल्न खोज्यो।
हामी अन्नपूर्णको चुचुरामा थियौं।
हाम्रो मुटुमा बयान गर्नै नसकिने खुसी छचल्कियो।
यो खबर अरूले थाहा पाउन सके पो!
यो खबर सबैले थाहा पाउन सके पो!
हामीले देख्यौं, अन्नपूर्ण-प्रथमको शिखर बरफको ताजले छोपिएको थियो। केही पर भयानक भीर थियो। त्यो भीर डरलाग्दो र नाप्नै नसकिने गरी ठाडो तल झरेको थियो। संसारमा यस्ता पर्वत थोरै मात्र हुन सक्छन्। भीरदेखि निकै तल (हाल बर्सेनि दसौं हजार पदयात्री पुग्ने दक्षिणी अन्नपूर्ण आधार शिविरमाथि) बाक्लो बादल तैरिरहेको थियो। त्यो बादलले शान्त र उर्वर पोखरा उपत्यकालाई आफूभित्र लुकाइरहेको थियो। हामीभन्दा माथि केही पनि थिएन।’
यो सन् १९५२ मा अन्नपूर्णका प्रथम विजेतामध्ये एक मौरिस हर्जोगको सन् १९५२ मा प्रकाशित किताब ‘अन्नपूर्ण’ को १४४ पृष्ठमा गरिएको बयान हो।
हो, मानव जातिले यस्तो सफलता त्यसअघि कहिल्यै पाउन सकेको थिएन।
हो, सन् १९५० जुन ३ (२००७ साल जेठ २१ गते) अघि त्यति माथिल्लो उचाइसम्म मानिस कहिल्यै पुग्न सकेको थिएन। सगरमाथा लगायतका सर्वोच्च हिमाली शिखरहरूमा पहिलो पाइला राख्ने होडबाजी चलिरहे पनि त्यसअघि त्यति माथि कोही पुगेको प्रमाण फेला परेको थिएन, छैन।
घटना ७५ वर्षअघि आजकै दिनको हो।
त्यस दिन दिउँसो २ बजेतिर दुई फ्रान्सेली युवा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो कुनै शिखरको टाकुरामा उभिन सफल भएका थिए। मौरिस हर्जोग र लुई लाशेनलले त्यस दिन पर्वतारोहणको फाँटमा नयाँ इतिहास रचेका थिए।
कुनै पनि बेला मनसुने झरी र आँधी सुरू हुने चिन्ताबीच उनीहरू त्यस दिन ८,०९१ मिटर अग्लो अन्नपूर्ण-प्रथमको शिखरमा उभिन सफल भएका थिए। उनीहरू त्यस्तो सफलता हासिल गर्ने पहिला मानव हुन पुगे। यो खबरले उनीहरूको आरोहण दललाई मात्र होइन, उनीहरूलाई नजिकबाट नियालिरहेका लाखौं प्रान्सेलीलाई स्वाभाविक रूपमा गौरवान्वित तुल्याइदियो।
हुन पनि त्यति बेला फ्रान्सेलीहरूलाई विश्वयुद्ध समाप्तिपछि अन्तर्राष्ट्रिय गौरव र प्रतिष्ठाका लागि कुनै नयाँ विजयको खाँचो थियो।
हर्जोग र लाशेनलको सफलताले वर्षौंदेखि सर्वोच्च शिखर सगरमाथामाथि प्रथम मानव विजय हासिल गर्ने प्रयासमा लागिरहेका ब्रिटिस र अन्य पश्चिमा आरोहीलाई भने इर्ष्यालु बनाइदियो। सायद उनीहरूलाई सगरमाथाको विजय अभियानमा लागिरहन घच्घच्याइरह्यो। त्यसैको फलस्वरूप तीन वर्षपछि सन् १९५३ मे २९ मा ब्रिटिस टोलीलाई सगरमाथाको पहिलो सफल आरोहण गर्न उद्देलित तुल्याइरह्यो।
कुनै गन्तव्य रोज्न र त्यसमा पुग्न प्रतिबद्ध रहँदै अथक प्रयास जारी राख्ने प्रेरणा दिएका मौरिस हर्जोग र लुई लाशेनल फ्रान्सका मात्र नभई विश्वभरकै आरोहीहरूका प्रेरणा स्रोत बन्न पुगे। त्यसैले त विगत ७५ वर्षमा उनीहरूका पाइला पछ्याउँदै हजारौं आरोही अन्नपूर्ण-प्रथम, सगरमाथा लगायतका हिमाली चुचुरामा पुगिसकेका छन्।
आज नेपालमा उनीहरूको सफलताको ७५औं वर्षगाँठ मनाइँदै गर्दा त्यो क्रम जारी छ।
विश्वका धेरै आरोहीलाई आज पनि मौरिस हर्जोगले आफ्नो आरोहणको इतिवृत्तान्त समेटेर लेखेको ‘अन्नपूर्ण’ नामक पुस्तकले प्रेरित गरेको पाइन्छ।
आरोहणपछि फ्रान्स फर्किएलगत्तै अस्पतालको शय्यामा पल्टिएर कसैलाई टिपाउँदै लेखिएको त्यो किताब उनले अन्नपूर्ण-प्रथम चढेको दुई वर्षपछि प्रकाशित भएको थियो। त्यसको एक करोड प्रति छापिइसकेको बताइन्छ।

धौलागिरि कि अन्नपूर्ण-प्रथम
मौरिस हर्जोग, लुई लाशेनल र आरोहण दलका अन्य सदस्य युरोपको आल्पस् पर्वतमालामा रहेको त्यहाँको सर्वोच्च शिखर म ब्लँ (४,८०७ मिटर) लगायतका शिखर चढ्दै हुर्किएका थिए।
भारतमा शासन गरिरहेका ब्रिटिस आरोहीहरू सन् १९०० देखि नै हिमाली शिखर आरोहण गर्न तम्सिसकेकाले फ्रान्सेलीहरूको ध्यान पनि हिमालयतर्फ खिचिन थालेको थियो।
सन् १९२१ पछि ब्रिटिस आरोहीहरु बर्सेनिजसो तिब्बतको बाटो सगरमाथा आरोहणमा जान थाले। अन्य युरोपेलीहरू पनि हिमालय आरोहणमा आउन थालेपछि फ्रान्सेलीहरू पनि के कम; उनीहरूले पनि त्यस्तै योजना बनाउन थाले।
सन् १९५० मार्चमा पेरिसमा फ्रान्सेली हिमालय आरोहण समितिका बैठक सुरू भए। धेरै छलफलपछि त्यसले आरोहण टोलीका सदस्य र नेता छान्यो।
त्यसपछि निर्णय गर्यो – हाम्रो टोली अहिलेसम्म कुनै पश्चिमा टोली नपुगेको दुर्गम पश्चिम नेपालको टुकुचे पुग्ने छ, जहाँबाट टोलीले कि त (कालीगण्डकी पश्चिमको) धौलागिरि (८१६७) चढ्ने प्रयास गर्नेछ, कि त अन्नपूर्ण प्रथम आरोहण गर्नेछ।
नेपाल आगमन
हर्जोगको टोली नेपाल आउँदा १०४ वर्षे राणा शासन हटिसकेको थिएन। नेपालमा विदेशीलाई आउन प्रतिबन्ध लगाइएको थियो। त्यस्तो बेला हर्जोगको टोली कसरी नेपाल पस्न सफल भयो होला?
त्यति बेला नेपाल प्रवेश गर्न र हिमाल आरोहणको अनुमति लिन विदेशीहरूलाई निकै कठिन थियो। सन् १९५० सम्म त नेपालमा विदेशीलाई प्रवेश निषेध नै थियो। तर नेपालसमेत हेर्ने दिल्लीस्थित फ्रान्सेली राजदूतले धेरै पहल गरेपछि तत्कालीन प्रधानमन्त्री मोहनशमशेर नेतृत्वको सरकारबाट आफ्नो टोलीले आवश्यक अनुमति पाउन सफल भएको हर्जोगले आफ्नो किताबमा लेखेका छन्।
मोहनशमशेरको नाम नलिई उनलाई ‘नेपालका महाराजा’ भनी किताबमा उल्लेख गरिएको छ।
अप्रिल महिनाको सुरूमा दिल्लीको पालम विमानस्थलमा ओर्लिएर उनीहरूको यात्रा सुरू भएको थियो। पुरानो दिल्लीबाट रेलमार्ग हुँदै नौतनुवा सामान पठाएका फ्रान्सेली आरोही शिख चालकले चलाएको सानो विमानबाट लखनउ आएका थिए।
लखनउ र नौतनुवामा हर्जोगले पहिलोपटक शेर्पाहरूलाई भेटे, जसले आरोहीलाई हिमाल चढ्न सघाएर ख्याति कमाउन थालिसकेका थिए। उनीहरू थिए – आङ थार्के, आङ छिरिङ (पान्से), दावातोन्डु, सार्की, फुरथार्के, आङगाबा, आङ दावा र अड्जिबा।
‘भारतीयहरूका तुलनामा होचा तर बलिया पाखुरा भएका गोरा शेर्पा देखेर म निकै खुसी भएँ,’ हर्गोजले लेखेका छन्, ‘उनीहरू बफादारी र दयाभावका लागि प्रख्यात छन्। उनीहरूले नै हामीलाई टाकुरामा पुग्न सघाउने हुनाले म उनीहरूलाई राम्रो व्यवहार गर्न दृढ भएँ।’
अप्रिल ५ तारिखमा नेपाल प्रवेश गर्दै जिप चढेर कपिलवस्तु पुगेपछि उनको टोलीले त्यहाँ जन्मिएका गौतम बुद्धबारे थाहा पाएका थिए। बुटवलबाट घोडा चढेर पाल्पा पुगेपछि उनीहरूले पहिलोपटक धौलागिरि र अन्नपूर्ण हिमाल देखे।
नेपाल छिरेको १५ दिनपछि अप्रिल २० मा मात्र त्यो टोली धौलागिरि र अन्नपूर्णको समिप म्याग्दीको दाना क्षेत्रबाट टुकुचेतर्फ बढेको थियो।
आरोहणपछिको दुर्घटना
टुकुचेमा शिविर खडा गरेपछिको एक महिना उनीहरू धौलागिरि आरोहणका लागि उपयुक्त बाटोको खोजीमै भौंतारिएका थिए। धौलागिरि आरोहण योजना परित्याग गरेपछि उनीहरू शेर्पा सहयोगीका साथमा अन्नपूर्ण आरोहणको सम्भाव्यता अध्ययनमा व्यस्त हुन थाले।
अन्तत: मे २३ तारिखमा मात्र उनीहरूको टोलीले अन्नपूर्ण-प्रथमको आरोहण गर्ने निधो गरेको थियो।
त्यसपछि उनीहरू चार दिन हिँडेर तिलिचो हिमाल नजिकै अन्नपूर्णको पछिल्लो भाग पुगे, जहाँ उनीहरूले आधार शिविर खडा गरे। त्यसपछि लुई लाशेनल र अन्य सदस्य शेर्पाहरूसँग सहकार्य गर्दै माथि लागे।
पहिलो शिविर तयार भयो। लाशेनलले तलबाट हेर्दा सिकल ग्लेसियर अर्थात् हँसिया आकारको हिमनदीको दायाँबाट माथि पुग्ने रणनीति बनाए। टोलीले त्यसै गर्यो। अर्को एक सातामा दोस्रो शिविरबाट तेस्रो र चौथो शिविर पनि तयार भयो।
त्यहाँसम्म आरोहण दलमा रहेका अधिकांश सदस्य पुग्न सफल भए पनि कोही कोही हिउँ, बरफ र उचाइका कारण थलिएर तल्ला शिविर झरेका थिए।
सिकल ग्लेसियरभन्दा माथि करिब ७,८०० मिटर उचाइको भीरमा पाँचौं शिविर बनाउन भने हर्जोग र लाशेनल मात्र सफल भए। उनीहरुलाई सघाउन पुगेका थिए दुई शेर्पा – आङ थार्के र सार्की।
त्यहाँ पुगेपछि हर्जोगले ती शेर्पालाई पनि आफूसँगै शिखर जान अनुरोध गरेको स्मरण गरेका छन्।
तर जबाफमा आङ थार्केले भनेका थिए, ‘होइन बडासाहेब मेरा खुट्टा चिसोका कारण जम्ने अवस्थामा पुगेका छन्। म तल्लो शिविरमा झर्छु। धन्यवाद।’
त्यसपछि बडो सास्तीले ती दुई माथिल्लो शिविर पुगेका थिए। त्यो पनि बिनाअक्सिजन स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै।
सबभन्दा उचाइमा खडा गरिएको पाँचौं शिविरमा बिताएको रातलाई हर्जोगले ‘जिन्दगीकै सबभन्दा खराब रात’ भनेका छन्।
चिसोका कारण नचल्ने भएको भिडिओ क्यामेरा हर्जोगले त्यही शिविरमा छाडिदिएका थिए।
त्यहाँ मुस्किलले निदाउन सकेका दुवै आरोही बिहान ६ बजे शिखरतर्फ तेर्सिएको ठूलो चट्टानी पर्खालतर्फ लागेका थिए। मध्याह्नतिर मुस्किलले त्यसलाई पार गरेर थोरै उक्लिएपछि उनीहरूले सुरूमा कल्पना नै नगरेको सफलता हासिल गरेका थिए — अन्नपूर्ण-प्रथम शिखरको पहिलो आरोहण।
शिखरमा केही बेर रोकिएर चारैतिरको दृश्य उनीहरूले धीत मरून्जेल हेरेका थिए। त्यस क्रममा हर्जोगले मँ ब्ल र एल्पसमा बिताएको आफ्नो बाल्यकाल सम्झिएका थिए। अनि आइस एक्समा फ्रान्सको तीनरंगे झन्डा फहराएर हर्जोगले सहयात्री लाशेनललाई कालो–सेतो रिल हालिएको क्यामरा दिएर आफ्नो फोटो खिच्न लगाएका थिए। रंगीन फोटोका लागि उनले नयाँ रिल हाले र त्यो प्रक्रिया दोहोरियो।
अब लाशेनल व्यग्र हुन थाले। मनसुने बादल नजिकै आइरहेको भन्दै उनले हर्जोगलाई पटक पटक हतारिन आग्रह गर्दै भने, ‘अब सिधै तल झरिहालौं।’
त्यसपछि लाशेनल पाँचौं शिविरतर्फ झर्न थालिहाले। हर्जोगले लाशेनललाई पछ्याइरहे। तर बेला बेला फरक्क फर्किएर शिखरलाई हेरिरहे।
कुन्नि के झिक्न झोला निकाल्ने बेला हर्जोगको हातको पञ्जा हिउँमा खसेर हिउँबाट तल गुल्टिन थाल्यो। उनले भेटेनन्। झोलाभित्र राखेको अर्को ऊनीको मोजा बेर्ने मौका पनि गुमाए।
निकै बेर झरेपछि पाँचौं शिविर आइपुग्दा देखे, त्यहाँ त दोस्रो टेन्ट टाँगिएको रहेछ। उनका दुई आरोही साथी, रेबुफाट र टेरे, माथि आइसकेको प्रमाण थियो त्यो। तर त्यहाँभित्र उनले लाशेनललाई देखेनन्; उनी त हिउँमा चिप्लिएर निकै तल खुर्मिरिएका रहेछन्, जसलाई कुशल स्की खेलाडी टेरेले उद्धार गरेर माथि ल्याएका थिए।
यता हर्जोगका दुवै हात पहेँलो र चिसो भएर जमिसकेका थिए। बुटभित्र खुट्टाका औंला पनि जमिसकेका थिए। दुवैको प्राथमिक उपचार पाँचौं शिविरबाटै सुरू भयो र हिमालबाट तल झर्दा पनि जारी रह्यो। उनीहरूलाई शेर्पाहरूले बोकेर हिँड्नुपरेको किताबमा उल्लेख छ।
अन्नपूर्णबाट झर्ने क्रममा घाइते हुन पुगेका दुवैको उपचार फ्रान्स फर्किएपछि त्यहाँका अस्पतालमा महिनौंसम्म चलिरह्यो।
मोहनशमशेरको दरबारमा सम्मान
फर्केने क्रममा म्याग्दीबाट बाग्लुङ अनि पोखरा पुगेको टोली फेरि पाल्पा र बुटवल हुँदै नौतनुवा पुग्यो। त्यहाँ उनीहरूलाई खबर गरियो – सफल आरोहीलाई काठमाडौंमा रहेका प्रधानमन्त्री मोहनशमशेरले भेटेर सम्मान गर्न तयार छन्।
त्यसपछि हर्जोग आफ्ना प्यारा शेर्पाहरूसँग विदा भएका थिए। उनले दिल्लीबाट आएका फ्रान्सेली अधिकारीहरूसँग रक्सौल जाने रेल चढेका थिए। लाशेनल भने थप उपचारका लागि दिल्लीतर्फ लागेको हर्जोगको किताबमा उल्लेख छ।
उनको टोलीले रक्सौल पुगेपछि अमलेखगन्ज जाने अर्को तीनडिब्बे नेपाली रेल चढेको र त्यसपछि राम्रो मोटरमा भिमफेदीसम्म यात्रा गरेको थियो।
त्यसपछि डन्डी भनिने डोली चढेर थानकोट नजिकै पुगेको स्मरण गरेका हर्जोग काठमाडौंमा कसरी मोटर ल्याइयो होला भनेर तीनछक परेका थिए।
मोहनशमशेरको पाहुना भएपछि पाहुना घरमा फ्रान्सेली वाइन देखेर उनी त्यत्तिकै चकित भएका थिए। अन्य साथीहरू काठमाडौंका बौद्ध र स्वयम्भु जस्ता चैत्य घुम्न जाँदा उनी भने आफ्ना हातखुट्टाका पट्टी खोलेर घाउ सुकाउन कोठामै बस्न बाध्य थिए।
जुलाई ११ तारिखमा (सिंहदरबारभित्र हुनुपर्छ) फ्रान्सेली आरोहण दलका नेता मौरिस हर्जोगलाई एक भव्य समारोहबीच सम्मान गरिएको थियो। फ्रान्सेली दूतावासका एक अधिकारीले सरकारी उपहार नेपाललाई दिँदै आफ्नो टोलीलाई अन्नपूर्ण आरोहण गर्न दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
हर्जोगले भने पवित्र अन्नपूर्ण हिमालमा पाइला टेकेका कारण नेपालमा धेरैले सोचेजस्तो अनिष्ट नहोस् भनी मनमनै कामना गरेका थिए। उनले दरबारभित्रै कैदी जीवन बिताइरहेका राजा त्रिभुवनबारे पनि एक हरफ लेखेका छन्। उनले ‘त्रिभुवनशमशेर जंगबहादुर राणा’ भनेर उल्लेख गरेका छन्।
हर्जोगका अनुसार प्रधानमन्त्री मोहनशमशेरले उनलाई ‘नेपालको सबभन्दा बहादुर गोर्खा सैनिकलाई दिइने’ तक्माले विभूषित गरेका थिए। त्यसपछि भनेका थिए, ‘तपाईं एक बहादुर पुरूष हुनुहुन्छ। हामी तपाईंलाई यहाँ एक बहादुरका रूपमा स्वागत गर्दैछौं।’
हर्जोगको टोलीले जुलाई १२ मा नेपाल छाडेको थियो।
उनले आफ्नो किताबको अन्त्यमा लेखेका छन्, ‘हामी रित्तै हात अन्नपूर्ण हिमाल गएका थियौं। तर अब हामीले बाँकी उमेर अन्नपूर्णले दिएको यशको भारी बोकेर बिताउनुपर्नेछ। यो मनन् गर्दै हाम्रो जीवनको अर्को पाना पल्टिँदै छ। अब नयाँ जीवन सुरू हुँदैछ। तर मान्छेको जीवनमा अरू अन्नपूर्णहरू पनि हुनेछन्।’
मौरिस हर्जोग सन् २०१२ डिसेम्बर १४ मा ९३ वर्ष उमेरमा यो संसारबाट विदा भए।
लुई लाशेनलको भने अन्नपूर्ण आरोहण गरेको पाँच वर्षपछि १९५५ नोभेम्बर २५ मा ३५ वर्ष उमेरमै मृत्यु भएको थियो। उनी फ्रान्सको श्यामनीस्थित भेनी ब्लँसमा स्की गर्दा हिउँको दरारभित्र खसेका थिए।
***
source: setopati.com
(लेखक सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्।